
चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ । निर्देशकसँगै समीक्षकसमेत रहेका प्रकाश सायमीले चलचित्रले विस्तारै प्रभाव पार्ने बताए ।
“कुनै देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ । उनीहरूको संस्कृति, वेशभूषा र जीवनशैलीसमेत हामीले चलचित्रमार्फत लिइरहेका हुन्छौँ । यो नजानिदो किसिमले हामीमा परिरहेको प्रभाव हो”, निर्देशक सायमीले भने, “चलचित्र हेर्दा विचार गर्नुस् त हिरोहरू आफूलाई जोखिममा राखेर भए पनि अरुको रक्षा गर्छन् । त्यो केही चलचित्रमा देशले पनि गरेका छन् । यसले केही न केही प्रभाव त छाडेको छ ।” उनले नेपालमै बालबालिकाले विदेशी कार्टुन र शृङ्खला हेरेर त्यही भाषासमेत सिकिरहेको बताए ।
राजनीतिज्ञ डा लीला न्याइच्याईंका अनुसार नेपालमै समेत भाषा हराउँदै गरेको छ । “मेरै घरमा बच्चाले नेवार भाषा बोल्न जान्दैनन् किनकी उनीहरूको प्रयोगमा भाषा निकै कम आउँछ । म आफैँ बोल्छु तर लेख्नु सहज छैन । अब आउने पुस्तासम्म मातृभाषा पु¥याउन सहज छैन”, उनको भनाइ छ, “यो चलचित्रकै प्रभाव हो किनकि नेपालीबाहेक अन्य भाषामा निकै कम चलचित्र बन्ने गरेका छन् ।”
प्रा खड्ग केसीले चलचित्रसम्बन्धी अध्ययन गर्न नेपाल सरकारले नै ध्यान दिनुपर्नेमा जोड दिए ।
चलचित्रमार्फत निर्माण हुने सोचले कालान्तरमा असर गर्ने निर्देशक सायमीको बुझाइ छ ।