०५ साउन २०८३, मंगलबार

म्याग्दी कपको उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

म्याग्दी कपको उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप २०७९’ आमन्त्रित म्याग्दी लिग फूटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । 

मंगलवार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टीमा कालिपुल युनाइटेडलाई ६–५ ले हराउँदै पश्चिम म्याग्दी युवा क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगिताको विजयी टीम पश्चिम म्याग्दी युवा क्लबले नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कालिपुल युनाइटेडले ७० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित हुँदा प्रतियोगिता अवधिभर ८ गोल प्रहार गरेका कालिपुल युनाइटेडका बिनम थजाली सर्वाधिक गोलकर्ताको रूपमा पुरस्कृत भए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक कालिपुल युनाइटेडका सन्दिप क्षत्री, उदयमान खेलाडी सनम विक, अनुशासित टीममा जनप्रिय युवा क्लब दरबाङलाई सम्मान गरिएको थियो । अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, उत्कृष्ट युवा खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुबेदी लगायतले ट्रफी मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।

म्याग्दी कप २०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फूटबल संघको सहआयोजनामा चैत १ गतेदेखि शुरू भएको प्रतियोगितामा १० क्लबले सहभागिता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्