
भ्रष्टाचारी ठहर भएका यातायात कार्यालय इटहरीका ३ उपसचिवलाई विशेष अदालतले ८ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका सूचना अधिकारी नारद प्रसाद भट्टराईका अनुसार उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई आठ वर्ष कैद सजाय गरिएको हो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले आज सजाय निर्धारण गरेको हो।
उपसचिव होमनाथ भट्टराईलाई भने साढे २ वर्ष कैद सजाय तोकिएको उनले बताए।
यातायात व्यवस्था कार्यालयमा २०६९ सालदेखि २०७३ सम्म राजस्व चुहावट भएको भनी अख्तियारमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा ६१ करोड २१ लाख रुपैयाँ राजस्व खातामा दाखिला नगरी दुरुपयोग भएको भेटिएको थियो । त्यसपछि छानबिन गरी अख्तियारले मुद्दा चलाएको हो ।