
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएको हो ।
जसअनुसार कांग्रेसभित्र यसबारे छलफल भएर कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे सामान्य छलफल भएको छ । शनिबार सभापति निवासमा बसेको पदाधिकारी बैठकमा देउवाले पार्टीले ८ वटा मन्त्रालय पाउने सहमति भएको जानकारी दिएका थिए । बैठकमा पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने कि भन्नेबारे सामान्य छलफल भएको कांग्रेस स्रोतले बतायो ।
मन्त्रालय संख्यमा सहमति भएपनि भागबण्डामा भने अझै कुरा मिल्न बाँकी रहेको छ । आइतबार यसबारे गठबन्धनमा छलफल गरेर सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको छ ।
यस्तै आइतबार नै नेकपा एकीकृत समाजवादी, जसपालगायतका दलले पाउने मन्त्रालयको विषयमा पनि छलफल र आवश्यक सहमति जुटाइने बालुवाटारको तयारी छ ।