१५ असार २०८३, सोमबार

मोफसलका ‘आँखा बा’

मोफसलका ‘आँखा बा’

भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै  ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन् । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन् । उनको एउटै चिन्ता छ – अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दिनचर्या अहिले पनि निरन्तर चलिरहेको छ ।
 
आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो, भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उनलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ ।

नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन् ।
 
विक्रम संवत् २०४२ सालमा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुन्छन् । तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति संघमार्फत विक्रम संवत् २०४४ सालमा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो । शुरूआतका दिनमा तिनै समाजसेवीले मासिक १ हजार र पछि एकमुष्ट ५ हजार संकलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो । 

लामो समयसम्म थोरै बिरामीले सेवा पाएको अस्पतालमा विक्रम संवत् २०६० सालपछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुन्छन् ।
 
शुरूआतीदेखि नै समूहमा उनी रहे पनि जुन समयदेखि उनले नेतृत्व सम्हाले, अस्पतालले ठूलो सफलता हात पार्‍यो । विक्रम संवत् २०६० सालमा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो । 

समाजसेवी मास्के भन्छन्, ‘विक्रम संवत् २०६७ सालबाट अस्पताल आफैं खर्च धान्ने अवस्थामा पुग्यो ।’ यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । १ दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो संख्या वार्षिक ३ लाख नाघेको छ । 

विक्रम संवत् २००३ सालमा गोरखाको पाटेचौरमा जन्मिएका मास्केले विक्रम संवत् २०४२ सालदेखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताएका छन् । नेपाल नेत्रज्योति संघको संस्थापक सदस्य मास्के संघको कोषाध्यक्ष, उपसभापति, २ पटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्‍याएका हुन् । सो संघको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसकेका मास्के हाल पनि संघको केन्द्रीय सदस्य छन् ।

ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्‍यो । उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन ।
 
उनले भने, ‘मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा ११ करोड हाराहारी रकम संकलन भएको थियो ।’ सभापति हुनुअघिसम्म दैनिक २०० हुने बिरामी आफूले छाड्दै गर्दा ६०० पुगेको उनी बताउँछन् । आफू सभापति हुनुअघि वर्षमा २०० आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो संख्या ८ हजार पुर्‍याउन सकेकामा उनलाई गर्व छ ।

उनको निरन्तरको साथका कारण अहिले बिरामीको संख्या बढ्दै गएको छ ।
 
अस्पतालका २ उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले २ कार्यकाल पूरा गरेर बिदा भए । अहिले उपचार केन्द्रको यो संख्या १४ पुगेको छ । ३ वटा थप गर्ने तयारीमा छ । उनले स्मरण गरे, ‘म सभापति हुँदै गर्दा २ विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो संख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित १५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।’

अस्पतालमा एमडी अध्ययन गर्ने मात्रै ९ चिकित्सक छन् भने ३ जनाले ‘फेलोसिप’ गरिरहेका छन् । नेत्र सहायक र स्नातक समेत अध्ययन–अध्यापन हुँदै आएको छ । अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् ।

जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्त्वपूर्ण योगदान छ । उनकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङ्ग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्