
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।
आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको जानकारी दिए।
नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको उनले बताए।
उनले भने, ‘नेपाली कांग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । नेपाली कांग्रेस मात्रै होइन कुनै पनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्नेबारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबै कुरा छलफलको क्रममा छ ।'
छलफल घनीभूत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहेका उनले बताए। गठबन्धन दलका नेताहरूसँग पनि छलफल भइराखेको उनको भनाइ थियो। 'अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागी हुने भन्ने कुरा टुंगो लागेको छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को-को जाने, कसले नेतृत्व गर्ने भन्नेबारेमा औपचारिक निर्णय भइसकेको छैन ।’
उनले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताए।