११ असार २०८३, बिहीबार

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’ लागू

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’ लागू

ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीहरूका लागि टाइमकार्ड लागू गरिएको हो । 

जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताए । टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्र सवारी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाइ छ । 

“यात्रुलाई छिटो पुग्नुपर्ने र चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा सवारीको गति बढ्छ । तीव्र गतिको सवारी दुर्घटनाको जोखिममा पर्छ । सवारी अनियन्त्रित भएरै धेरैजसो दुर्घटना भएका छन्”, प्रमुख खतिवडाले भने, “तीव्र गतिका कारण हुने दुर्घटना रोक्न हामीले टाइमकार्डम लागू गरेका छौँ । निश्चित समय तोकिएको हुन्छ, यदि त्यो समयभन्दा अगाडि आइपुग्ने सवारीलाई प्रहरीले तत्काल कारबाही गर्छ ।” 

पत्ताले–सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा–जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ–गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर–मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको भन्दै निश्चित दूरी पार गर्न समय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्