अलीबाबा कम्पनीका संस्थापक तीन वर्षको अन्तरालमा चीनको हाङचाउस्थित एक विद्यालयमा देखिएका छन् ।
सन् २०२० मा चीनका वित्तीय नियामकहरूको आलोचना गरेपछि ५८ वर्षीय मा सार्वजनिक स्थानमा कमै मात्र देखिएका छन् ।
प्रविधि कम्पनीका मालिकहरूमाथि चीन सरकारले चलाएको कारवाहीपछि लुक्ने मा सबभन्दा प्रख्यात अर्बपति थिए ।
उनी विदेशमा एक वर्षभन्दा बढी समय बसेपछि हालै चीन फर्किएको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।
उक्त पत्रिका अलीबाबा समूहकै स्वामित्वमा छ । चीन पुग्नुअघि मा केही समयका लागि हङकङ गएको अनि साथीभाइलाई भेटघाट गरेको उक्त पत्रिकाले लेखेको छ ।
विभिन्न देश डुलेर माले कृषि प्रविधिका बारेमा सिकेको बताइएको छ । उनी हालैका वर्षमा सार्वजनिक स्थानबाट किन हराएका हुन् भन्ने बारेमा समाचारमा खुलाइएको छैन ।
चीनका सर्वाधिक धनाढ्यमध्येका एक माले गत जनवरी महिनामा वित्तीय प्रविधि कम्पनी यान्ट ग्रुपको नियन्त्रण त्यागेका थिए ।
मनमा आएको कुरा राखेको र बढी शक्तिशाली भएकोले गर्दा मालाई चिनियाँ कम्युनिस्ट पार्टीले मन नपराएको प्रमण यसबाट पाइने टिप्पणीकारहरू बताउँछन् ।