०५ साउन २०८३, मंगलबार

भावी अर्थमन्त्रीको चर्चा : कांग्रेबाट खड्का, महत कि अन्य कोही ?

भावी अर्थमन्त्रीको चर्चा : कांग्रेबाट खड्का, महत कि अन्य कोही ?

सरकार विस्तारमा माओवादीले गृहमन्त्रालय नछाड्ने भएपछि अर्थमन्त्रालय कांग्रेसको जिम्मामा आउने भएको छ । ढिलोमा अबको दुई दिनभित्र हुने सरकार विस्तारमा अर्थमन्त्री कांग्रेसबाटै बन्ने तयारी भएको हो । 

अर्थतन्त्रका सूचकहरू धेरै राम्रो नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कांग्रेसका अनुभवी र जिम्मेवार नेता अर्थमन्त्री बनिदिए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका थिए । 

पार्टीको नेतृत्व गरी कांग्रेसबाट पूर्णबहादुर खड्काले सरकारमा जाने तयारी गरेका थिए । तर उनको दाबी अर्थमा नभई गृह मन्त्रालयमा थियो । अर्थ नै लिनुपर्ने भएपछि पूर्व गृहमन्त्रीसमेत भइसकेका खड्काले इच्छा नराखेको बताइन्छ । बरु उपप्रधानसहित रक्षामन्त्री लिएर खड्का सरकारमा जान इच्छुक देखिएका छन् ।

यस्तोमा सभापति शेरबहादुर देउवाले पनि अर्थमन्त्रालयमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेको बताइन्छ । 

‘कांग्रेसले सरकारमा कतिवटा र कुन–कुन मन्त्रालय पाउँछ भन्ने टुंगो लागेपछि मात्रै सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने प्रस्ट हुन्छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा भन्छन्, ‘कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जानेबारे पूर्ण दाइ र प्रकाश दाइको चर्चा छ । तर, प्रस्ट भइसकेको छैन । रक्षा र अर्थमा दुवै नेताको चर्चा भएको सही हो ।’ 

महत स्वयं भने आफ्नो नाम चर्चामा रहे पनि प्रस्ट नभइसकेको बताउँछन् । 

‘मेरो अध्ययन र रुचिको क्षेत्र भएकाले यो मन्त्रालयमा मेरो चर्चा धेरैले गरेका हुन सक्छन्,’ महतले लोकान्तरसँग भने, ‘तर म आफैं अर्थमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । सभापतिबाट पनि प्रस्ट संकेत र आश्वासन आइसकेको अवस्था होइन । मंगलबार बिहान पार्टीको बैठक बसेपछि एउटा टुंगो लाग्ला ।’

महत यसअघि परराष्ट्र, ऊर्जासहितका मन्त्रालयमा रहेर काम गरिसकेका नेता हुन् । अर्थशास्त्रमा पीएचडी गरेका महतले पोलिसी इकोनोमिक्समा स्नातकोत्तर गरेका छन् । 

कांग्रेस स्रोतका अनुसार मंगलबार बिहान ९ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा सभापतिलाई दिनेछ ।

यसैले अर्थमन्त्री कांग्रेसको हुने भए पनि उपसभापति खड्का वा महत को हुन्छन् भन्न नसकिने ती नेता बताउँछन् । 

‘अहिलेको कोर्स करेक्सनको सबै तयारी गर्ने उपसभापति पूर्णबहादुर खड्का हो । यसैले रक्षा मन्त्रालयमा उहाँ थन्किनुहुन्छ जस्तो लाग्दैन । किनकी यो मन्त्रालय कुनै कार्यकारी अभ्यासको होइन,’ ती नेता भन्छन्, ‘यसैले गृह नपाए पनि अन्तिममा अर्थ उहाँले नै लिनुहुन्छ जस्तो लाग्छ ।’ खड्काले चाहँदा जुनसुकै मन्त्रालय पनि पाउने भएपछि अन्तिम निर्णय नभएसम्म अर्थमन्त्रीको टुंगो नलाग्ने ती नेता बताउँछन् । 

‘पूर्ण दाइको स्वभाव नै यस्तै हो । उहाँले म मन्त्री बन्ने धुनमा छैन भनेर पटक-पटक बताइरहनुभएको छ । तर, सँगै मन्त्री बन्दैबन्दिनँ पनि भन्नुभएको छैन,’ ती नेता भन्छन्, ‘यसैले चाहँदा अर्थ वा जुनसुकै रोजेको मन्त्रालय पाउने अवस्थामा उहाँ हुनुहुन्छ । उहाँले नलिए मात्रै अर्थ अन्यमा जाने हो ।’

अर्थ खड्काले लिए परराष्ट्रमा प्रकाशशरण महत जाने ती नेता बताउँछन् । तर, केहीले पार्टीभित्र परराष्ट्र मन्त्रीका रूपमा सभापति शेरबहादुर देउवा पत्नी आरजुको पनि चर्चा गरेका छन् । आरजूलाई मन्त्री बनाउँदा आलोचना हुने डर देउवालाई सबैभन्दा बढी छ । 

अर्थका अन्य दाबेदार को–को ? 

अर्थ मन्त्रालयका लागि सबैभन्दा बढी तयारी गर्ने नेतामा भने महामन्त्री गगन थापा पर्छन् । उनी आफैं मन्त्रीका लागि ठूलो लबिङमा छैनन् । तर, कमजोर बनेको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने कार्ययोजनाको साथ उनी तयारी हालतमा बसेका छन् ।

अब आउने अर्थमन्त्रीलाई दुई चार महिनामा नतिजा दिनुपर्ने चुनौती रहेको भन्दै उनले दबाब बढाइसकेका छन् । तर, सभापति देउवाले यसपटक गगनलाई अर्थ दिनेबारे सकारात्मक मनस्थिति नबनाएको बताइन्छ । 

थापाबाहेक कांग्रेसबाट अर्थका लागि ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर राणा र विनोद चौधरीका पनि सम्भावित दाबेदार हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्