
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि ३ रात ४ दिनको 'घलेगाउँ भ्रमण कार्यक्रम' सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार श्री सन्दीप क्षेत्रीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल करिब २५० जना वरिष्ठ अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराइएको थियो ।
घलेगाउँ भ्रमणका क्रममा त्यहाँको स्थानीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकनसमेत गराइएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो ।
साथै, कलाकार क्षत्रीसँग अभिकर्ताहरूलाई साक्षात्कार गराउने उद्देश्यले घलेगाउँ भ्रमणपश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत श्री सुरेशप्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको अथक् परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको जानकारी गराए।