
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका दुई जनाको साथबाट स्रोत नखुलेको थप नगद फेला परेको छ । नापी कार्यालय मनमैंजु, काठमाडौँमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेकामा उनीहरुको साथबाट साढे ९ लाख भन्दा बढी स्रोत नखुलेको नगद पनि बरामद गरेको हो ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उपरकोटी र कार्कीलाई सेवाग्राहीबाट लिएको एक लाख पचहत्तर हजार रुपैयाँ घुससहित मंगलबार नियन्त्रणमा लिएको थियो ।
त्यसपछि खानतलासी गर्दा कार्कीको साथबाट स्रोत नखुलेको सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैयाँ बरामद भएको थियो । यस्तै उनको साथबाट अभिशेक कार्कीको नाममा काटिएको सोह्र लाख रुपैयाँको चेक पनि बरामद भएको छ ।
यस्तै सर्भेक्षक उपरकोटीको साथबाट श्रोत नखुलेको एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ बरामद भएको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरूलाई नापी कार्यालय मनमैंजुबाटै नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।