
सरकारमा भागबण्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसिरहेको छ ।
मंगलवार साँझ कुनै सहमति नभएपछि बुधवार बिहान साढे ९ बजेदेखि बैठक जारी रहेको हो ।
मंगलवारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत भएको थियो । बुधवारको बैठकमा गठबन्धनका नेताहरूले सुझाव दिनेछन् ।
तर बुधवारको बैठक सरकार विस्तारमा केन्द्रित हुनेछ ।
अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई ८, माओवादीलाई ५, रास्वपालाई ३, जसपा र नेकपा एसलाई २/२, लोसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्रलाई १/१ मन्त्रालय दिने गरी भागबण्डाको प्रस्ताव गरेका थिए तर कांग्रेस, नेकपा एस, लोसपा सहितका दलले प्रधानमन्त्रीले प्रस्ताव गरेको प्रस्तावमा एउटा मन्त्रालय थप पाउनुपर्ने माग गरेका थिए ।
प्रभावशाली मन्त्रालयमा पनि दलहरूको दाबी भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको १ हप्ता नाघिसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन् ।
फागुन १५ गतेयता १६ वटा मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राख्नुपरेको छ ।
दलबीच भागबण्डामा तत्काल सहमति नभए सबै प्रभावशाली मन्त्रालयमा मात्रै मन्त्रीलाई शपथ गराएर सहमति गर्दै जाने विकल्पमा पनि छलफल भइरहेको छ ।