
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रवार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ ।
बेतिनीबाट यात्रु लिएर शुक्रवार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा शुक्रवार राति थप १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनको अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते १० मध्ये ३ जनाको अवस्था गम्भीर छ ।