
लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ ।
५ वर्ष पहिले नख्खु–बुङमती सडक विस्तार शुरू भएकोमा अरु खण्डमा सकिए पनि प्रवेशविन्दुको रूपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो ।
पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अबको केही दिनमा नै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ । लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको ४–५ दिनमा सकाउने सूचना अधिकारी जोशीले बताए ।
उनले भने, ‘उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ ।’
लिमिटेडले अहिले रातदिन खटिएर निरन्तर रूपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिए । पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो । उनले भने, ‘मुख्य पाइपको काम भइसकेको छ र ४–५ दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ ।’
भैंसेपाटीबाट बुङमतीको खण्डमा पनि चैतसम्म सकाउनुपर्ने उनको भनाइ छ । सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकम लगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ ।