०७ असार २०८३, आइतबार

यो वर्ष पनि हिउँदमा मात्रै आउने मेलम्चीको पानी

यो वर्ष पनि हिउँदमा मात्रै आउने मेलम्चीको पानी

३ वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ ।

वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

३ वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गत वर्षजस्तै यस वर्ष पनि बर्खा शुरू भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए। 

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ ।

संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्यांकन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ ।

हेडवर्क्स पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवर्क्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए। 

२०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै शुरूङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवर्क्सलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवर्क्स सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो । 

२ वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हुन नसकेको सूचना अधिकारी पन्तले बताए।

अहिले हेडवर्क्स पुनःनिर्माण गर्नुपर्नेछ । हेडवर्क्स कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए। पहिलेको जस्तो बनाउन झण्डै एक अर्ब लाग्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्