
दृष्टिविहीनका लागि झापाको बिर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।
तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन संघलाई दिएको बजेटबाट ३ वर्षअघि पुस्तकालय स्थापना गरिएको थियो । संघले बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ ।
पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचर लगायतका भौतिक साधन छन् । दराजमा २–४ पुस्तक पनि सजाइएका छन् ।
संघका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् । दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताब रेकर्ड गर्ने प्राविधिक जनशक्ति र आर्थिक स्रोत संघसँग नभएको अध्यक्ष बराल बताउँछन् ।
‘दृष्टिविहीन थुप्रै साथीहरू लोकसेवा र शिक्षासेवा आयोगमा परीक्षा दिने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू संघको श्रव्य पुस्तकालयमा त्यस्ता किताबको खोजी गर्नुहुन्छ । नपाएपछि निराश भएर फर्किन बाध्य हुनुहुन्छ ।’
दृष्टिविहीन नयाँ साहित्यिक तथा पाठ्यपुस्तक सुन्न चाहन्छन् । यसका लागि संघले बजारमा उपलब्ध किताबलाई पुस्तकालयको कम्प्युटर प्रयोग गरेर श्रव्य सामग्री उत्पादन गर्ने सोच बनाएको छ तर प्राविधिक जनशक्ति राख्नका लागि चाहिने तलब कहाँबाट जुटाउने भन्ने समस्या भएको झापा नेत्रहीन संघका कोषाध्यक्ष दिलकुमार राजवंशी बताउँछन् ।
उनका अनुसार एक जना प्राविधिक नियुक्त गर्नका लागि संघले जिल्लाका सबैजसो पालिका र विभिन्न दातृसंस्थामा सहयोगको याचना गर्दै प्रस्ताव पठाएको थियो । ‘नेत्रहीनको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिनुभएन,’ उनले निराशा व्यक्त गर्दै भने, ‘श्रव्य पुस्तकालय सञ्चालनका लागि वार्षिक ५ लाख आवश्यक पर्छ ।’
झापा नेत्रहीन संघ जिल्लाका सबै दृष्टिविहीनको साझा संस्था हो । यसमा ११५ साधारण सदस्य रहेका छन् । जसमध्ये ७२ जना पुरुष र ४३ महिला छन् । संघका अधिकांश सदस्य माध्यमिक शिक्षा परीक्षा (एसईई) तह उत्तीर्ण छन् भने शिक्षण पेशामा १६ कार्यरत रहेको बिर्तामोड–३ स्थित अनारमनी आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका दृष्टिविहीन भरत राजवंशी बताउँछन् ।
शिक्षक राजबंशीका अनुसार १६ शिक्षकमध्ये १० स्थायी छन् भने ६ राहत शिक्षक हुन् । अगरबत्ती, फिनेल र साबुन बनाउने उद्योग सञ्चालन गरेका दृष्टिविहीन पनि छन् । खासगरी जागिरमा लाग्न विभिन्न आयोगको तयारी गरिरहेका दृष्टिविहीन आफूलाई आवश्यक पर्ने श्रव्य पुस्तकको रेकर्डिङ सामग्री खोज्दै संघको कार्यालय धाउने गरेको संघका कोषाध्यक्ष राजवंशी बताउँछन् ।
आर्थिक अभावका कारण संघले उद्देश्यमूलक ढंगले पुस्तकालय सञ्चालन गर्न सकेको छैन । संघको कार्यालय रहेको स्थानबाट बिर्तामोड नगरपालिकाको प्रशासनिक भवन १०० मिटरको दूरीमा रहेको छ । बिर्तामोड नगरपालिकाले अरु विषयमा सहयोग नगरेको होइन । तथापि श्रव्य पुस्तकालय प्रयोजनविहीन भइरहेको अवस्थामा नगरपालिकाको सहयोगी हात बढेको छैन ।
राज्यले दृष्टिविहीन लगायतका अपाङ्गता भएका नागरिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्ने कुरा संविधानमै उल्लेख गरेको छ । उनीहरूको गाँस, बास र कपासको आवश्यकता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि राजनीतिक नाराको अग्रसूचीमै पर्ने गरेको छ ।
रमेश प्रसाई, मेनुका पौडेल, सागर अधिकारीजस्ता राष्ट्रिय प्रतिभा जन्माउने झापा जिल्लामा दृष्टिविहीनले स्थापना गरेको श्रव्य पुस्तकालय बन्द हुने अवस्था सिर्जना हुनु चाहिँ ज्यादै बिडम्बनाको विषय भएको जनाइएको छ ।