३१ जेठ २०८३, आइतबार

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’
प्रतिकात्मक तस्वीर

दृष्टिविहीनका लागि झापाको बिर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।

तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन संघलाई दिएको बजेटबाट ३ वर्षअघि पुस्तकालय स्थापना गरिएको थियो । संघले बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ ।

पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचर लगायतका भौतिक साधन छन् । दराजमा २–४ पुस्तक पनि सजाइएका छन् ।

संघका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् । दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताब रेकर्ड गर्ने प्राविधिक जनशक्ति र आर्थिक स्रोत संघसँग नभएको अध्यक्ष बराल बताउँछन् ।

‘दृष्टिविहीन थुप्रै साथीहरू लोकसेवा र शिक्षासेवा आयोगमा परीक्षा दिने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू संघको श्रव्य पुस्तकालयमा त्यस्ता किताबको खोजी गर्नुहुन्छ । नपाएपछि निराश भएर फर्किन बाध्य हुनुहुन्छ ।’

दृष्टिविहीन नयाँ साहित्यिक तथा पाठ्यपुस्तक सुन्न चाहन्छन् । यसका लागि संघले बजारमा उपलब्ध किताबलाई पुस्तकालयको कम्प्युटर प्रयोग गरेर श्रव्य सामग्री उत्पादन गर्ने सोच बनाएको छ तर प्राविधिक जनशक्ति राख्नका लागि चाहिने तलब कहाँबाट जुटाउने भन्ने समस्या भएको झापा नेत्रहीन संघका कोषाध्यक्ष दिलकुमार राजवंशी बताउँछन् ।

उनका अनुसार एक जना प्राविधिक नियुक्त गर्नका लागि संघले जिल्लाका सबैजसो पालिका र विभिन्न दातृसंस्थामा सहयोगको याचना गर्दै प्रस्ताव पठाएको थियो । ‘नेत्रहीनको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिनुभएन,’ उनले निराशा व्यक्त गर्दै भने, ‘श्रव्य पुस्तकालय सञ्चालनका लागि वार्षिक ५ लाख आवश्यक पर्छ ।’

झापा नेत्रहीन संघ जिल्लाका सबै दृष्टिविहीनको साझा संस्था हो । यसमा ११५ साधारण सदस्य रहेका छन् । जसमध्ये ७२ जना पुरुष र ४३ महिला छन् । संघका अधिकांश सदस्य माध्यमिक शिक्षा परीक्षा (एसईई) तह उत्तीर्ण छन् भने शिक्षण पेशामा १६ कार्यरत रहेको बिर्तामोड–३ स्थित अनारमनी आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका दृष्टिविहीन भरत राजवंशी बताउँछन् ।

शिक्षक राजबंशीका अनुसार १६ शिक्षकमध्ये १० स्थायी छन् भने ६ राहत शिक्षक हुन् । अगरबत्ती, फिनेल र साबुन बनाउने उद्योग सञ्चालन गरेका दृष्टिविहीन पनि छन् । खासगरी जागिरमा लाग्न विभिन्न आयोगको तयारी गरिरहेका दृष्टिविहीन आफूलाई आवश्यक पर्ने श्रव्य पुस्तकको रेकर्डिङ सामग्री खोज्दै संघको कार्यालय धाउने गरेको संघका कोषाध्यक्ष राजवंशी बताउँछन् ।

आर्थिक अभावका कारण संघले उद्देश्यमूलक ढंगले पुस्तकालय सञ्चालन गर्न सकेको छैन । संघको कार्यालय रहेको स्थानबाट बिर्तामोड नगरपालिकाको प्रशासनिक भवन १०० मिटरको दूरीमा रहेको छ । बिर्तामोड नगरपालिकाले अरु विषयमा सहयोग नगरेको होइन । तथापि श्रव्य पुस्तकालय प्रयोजनविहीन भइरहेको अवस्थामा नगरपालिकाको सहयोगी हात बढेको छैन । 

राज्यले दृष्टिविहीन लगायतका अपाङ्गता भएका नागरिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्ने कुरा संविधानमै उल्लेख गरेको छ । उनीहरूको गाँस, बास र कपासको आवश्यकता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि राजनीतिक नाराको अग्रसूचीमै पर्ने गरेको छ । 

रमेश प्रसाई, मेनुका पौडेल, सागर अधिकारीजस्ता राष्ट्रिय प्रतिभा जन्माउने झापा जिल्लामा दृष्टिविहीनले स्थापना गरेको श्रव्य पुस्तकालय बन्द हुने अवस्था सिर्जना हुनु चाहिँ ज्यादै बिडम्बनाको विषय भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्