रुसका सैन्य ब्लगर भ्लादलेन तातार्स्कीलाई आइतवार साँझ सेन्ट पिटर्सबर्गको एक क्याफेमा हत्या गरिएको छ ।
क्याफेमा आयोजित कार्यक्रममा सहभागी तातार््स्की बम विस्फोटमा मारिएका हुन् । उक्त कार्यक्रममा पुगेका २४ अन्य मानिस गम्भीर घाइते भएका छन् भने ६ जनाको अवस्था चिन्ताजनक छ ।
कसले यो आक्रमण गरेको भनी थाहा हुन सकेको छैन । तर रुसी वेबसाइटहरूमा युक्रेनलाई यस आक्रमणको दोषी भनी दाबी गरिएको छ ।
रुसको फौजदारी अनुसन्धान निकायले यसलाई हत्याको घटना भन्दै अनुसन्धान गरिरहेको छ ।
तातार्स्कीलाई एउटा बाकसमा सानो मूर्ति उपहार दिइएको थियो र त्यसभित्र बम राखिएको थियो भनी रुसी सञ्चारमाध्यममा खबर आएका छन् ।
तातार्स्कीले सन् २०१४ मा भएको मैदान कूपछि डोनबास क्षेत्रमा हतियार उठाएर युक्रेनी राज्यविरुद्ध लडाइँ लडेका थिए ।
उनी नियमित रूपमा सैन्य मामिलाका बारेमा लेखिरहन्थे ।
पोहोर साल युद्ध शुरू भएपछि उनी युद्धको अग्रमोर्चा रही रिपोर्टिङ गरिरहेका थिए ।
विस्फोट भएको क्याफे पहिला येभ्गेनी प्रिगोजिनको स्वामित्वमा थियो । उनी रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख हुन् ।