
देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोलीले आज (सोमवार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन् ।
यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँचबुँदे सहमति भएको थियो ।
सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन शुरु गरेका छन् ।
सोमवार काठमाडौंमा आएका मिटिरब्याजी पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायत विभिन्न माग राखेका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर पीडितहरूले 'किसानको भूमि फिर्ता गर','फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर','मिटर ब्याजीलाई कारबाही गर', 'झुटा आश्वासन बन्द गर','उत्पीडित किसान एक हौं'लगायत नारासमेत लगाएका छन् ।

