२४ जेठ २०८३, आइतबार

प्रकृतिलाई खुशी बनाउन गरियो भुमे पूजा

प्रकृतिलाई खुशी बनाउन गरियो भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुशी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ ।

रघुगंगा गाउँपालिका–१ बेग, बाँदुक, वडा नम्बर ७ चिमखोलामा मंगलवार धुमधामका साथ भुमे पूजा गरिएको छ ।

हरेक वर्ष चैत महिनाको उजेली मंगलवारका दिन परम्परागत रूपमा गरिँदै आइएको भुमे पूजालाई यस वर्ष पनि निरन्तरता दिएर पूजाआजा गरिएको हो ।

खेती किसानी गर्ने परम्परागत पेशा अँगालेका मगर समुदायले वन, जंगलको छेउछाउमा बसोबास गर्ने भएकाले प्रकृतिलाई खुशी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने महोकांक्षाले भुमे पूजा गर्न शुरू गरेको पाइन्छ । बर्खा लाग्नु अगाडि हुने यस पूजामा बाढी, पहिरो, असिना लगायतका प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने प्रचलन रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताए ।

उनका अनुसार मंगलवार चिमखोलामा एकैदिन भूमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पूजा गरिएको छ । चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने जनविश्वासले जिल्लाको विभिन्न ठाउँबाट सयौंको संख्यामा भक्तजनको सहभागिता रहेको थियो ।

‘आपतविपतमा मण्डली र भुमे देवतलाई गुहार माग्ने गर्छौं, आफ्नो मनोकांक्षा पूरा भएपछि भाकलस्वरूप थानमा आएर पन्च्योल स्वरूप पूजा गर्ने चलन छ,’ अध्यक्ष पाइजाले भने । चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए । ३०० बढीले पन्च्योल नै चढाएका छन् ।

भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ । मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवल लगायत चढाएरसमेत पूजा गर्छन् ।

मन्डली थानको महिमाको प्रचारप्रसार हुन थालेपछि हरेक वर्ष मन्डली थानमा पूजा गर्न आउनेहरूको संख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए । भुमे पूजाको अवसरमा यहाँ भुमे देवतालाई खुशी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्