
गायक दुर्गेश थापाले ‘उडि उडि’ शीर्षकमा र्याप शैलीको गीत सार्वजनिक गरेका छन् ।
आफ्नै शब्द, संगीत र एरेन्जमा उनले यो गीत सार्वजनिक गरेका हुन् ।
स्वरमा भने उनलाई रोशन आयरले साथ दिएका छन् ।
दुर्गेशको अफिसियल युट्युबमा सार्वजनिक गीतको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेका हुन् ।
‘हेन्सी ब्रो’ भनेर चिनिने टिकटकर रिदम क्षेत्रीसँग असमझदारी हुँदा आएको शब्दलाई लिएर यस गीत बनाएको दुर्गेशले बताएका छन् ।
उनले आफ्नो राम्रो होस भन्ने नचाहने आफूलाई प्रहार गरिरहने बताउँदै फेसबुकमा लेखेका छन्, ‘ती हरेक प्रहारलाई मैले साङ्गीतिक शक्ति बनाउने गरेको छु । तिनै आरोप आक्षेप प्रहारबाट कतिपय समयमा मैले साङ्गीतिक सिर्जना गर्ने गरेको छु ।’ दुर्गेशले सार्वजनिक गरेको गीतमा केही ‘उश्रृङखल’ मानिने शब्दहरु समेत समावेश छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले संस्थाबाट बहिष्कार गर्दा उनले ‘बहिष्कार’ शीर्षकमै गीत ल्याएका थिए ।
कलाकारहरूको पिकनिक कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको भन्दै टिकटकर रिदम क्षेत्रीले गायक दुर्गेशसहित ३ जनाविरुद्ध प्रहरीमा गतसाता उजुरी दिएका थिए । पछि रिदमले उक्त उजुरी फिर्ता लिएपछि विवाद मिलेको थियो । गायक दुर्गेश साङ्गीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिँदै आएका छन् । यसअघि उनी थुप्रैपटक विवादमा तानिँदै आएका छन् ।