
करीब ६ महिनाअघि अन्यत्र हारेका र केही नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेको बारा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।
१० वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् । तर, उनलाई काउन्टर दिन र बदला लिन अरू उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक हुने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पूर्व डीआईजी एवं सुशासन पार्टीमा सक्रिय रहेका रमेश खरेललाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । अघिल्लोपटक यही क्षेत्रबाट रामसहायप्रसाद यादवसँग पराजित भएका (तत्कालीन माओवादीका) शिवचन्द्र कुशवाहालाई जनमतले उम्मेदवार बनाएको छ । कांग्रेसको समेत समर्थन पाएका कुशवाहा एमालेले समर्थन गरेका जसपाका रामसहायप्रसादसँग ३५४ मतान्तरले मात्रै पराजित भएका थिए ।
चुनावअघि कांग्रेससँगको गठबन्धनमा रहे पनि यादव अन्तिममा एमालेसँगको गठबन्धनमा उम्मेदवार बनेका थिए । तर, सीके राउतसँग फराकिलो हार बेहोरेपछि जितेका सांसद रामसहायलाई उपराष्ट्रपति बनाएर यादव फेरि सांसद हुने धुनमा लागेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाको साथ रहेको छ ।
बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन् । त्यस्तै कोल्हवी नगरपालिकाको वडा नम्बर ८ पनि बारा २ मै पर्छ ।
गत स्थानीय तहको निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो । कांग्रेसले महागढीमाइ नगरपालिका र एमालेले पचरौता नगरपालिका जितेका थिए ।
तर, ४ मंसिरमा भने यो क्षेत्रको मत परिणाम रोचक थियो । एमालेको साथ पाएका जसपाका रामसहाय १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा ३५४ मतले मात्रै पछाडि परेका थिए ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका दुई उम्मेदवारले पनि प्रभावशाली मत ल्याएका थिए । रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत पाएका थिए । अर्का स्वतन्त्र अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याएका थिए । जनमतका राजेश साहको भने २ हजार ७२५ मत मात्रै आएको थियो ।
समानुपातिकतर्फ बारा २ मा ४ मंसिरमा जसपाले १३ हजार २४२, कांग्रेसले ११ हजार १७९, एमालेले ९ हजार ११३, जनमतले ८ हजार ८४६, लोसपाले ४२३५, नागरिक उन्मुक्तिले ३७९४, माओवादीले ३२६५ मत ल्याएका थिए ।
स्वतन्त्रबाट लडेका रामकिशोर जसपामै फर्किएका छन् । बारा २ को प्रदेशसभा १ मा शंकरप्रसाद कलवारले जसपाबाट टिकट नपाएपछि स्वतन्त्रबाट उठेर जितेका थिए । उनी अहिले जसपा प्रवेश गरिसकेका छन् । प्रदेश सभा २ मा जसपाकै बच्चा राउत अहिर विजयी भएका थिए । मधेश प्रदेशमा बाराकै सरोजकुमार यादव मुख्यमन्त्री छन् । आफ्नै पार्टीको सत्ता हुनुको फाइदासमेत यावदलाई छ । त्यसैले यसपटक जसपा अध्यक्षलाई चुनाव जित्न कुनै कठिनाइ नभएको जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव बताउँछन् ।
‘अघिल्लोपटक हामीले नै जितेको क्षेत्र हो । प्रदेशससभामा पनि हामीले नै जितेका थियौं । स्वतन्त्रबाट तेस्रो बढी मत ल्याउने रामकिशोर यादव पनि जसपामा फर्किइसक्नुभएको छ’ यादवले भने, ‘यसपटक त भन् सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एस, लोसपासहितको पनि साथ छ । हाम्रो उम्मेदवार प्रभावशाली पनि हुनुहुन्छ । त्यसैले जित्न कठिन छैन ।’
अघिल्लोपटक एमालेको मात्रै समर्थन पाउँदा पनि जितेको क्षेत्र भन्दै यादव कांग्रेस, माओवादी, नेकपा एस, लोसपासहितकोसाथ पाउँदा जित्नेमा ढुक्क छन् ।
उम्मेदवारी दिने चर्चाका बीच लोसपाका राजेन्द्र महताले पनि समर्थन गर्ने भएपछि यादव चुनाव जित्नेमा थप ढुक्क भएका छन् ।
२०७४ मा पनि तत्कालीन संघीय समाजवादी फोरमबाट रामसहायले कांग्रेस उम्मेदवार राधेचन्द्र यादवविरुद्ध फराकिलो अन्तरको जीत हात पारेका थिए । रामसहायले २८ हजार १८५ मत ल्याउँदा कांग्रेसका राधेचन्द्रले १५ हजार ७९० र माओवादीका शिवचन्द्र कुशवाहाले १० हजार ५४६ मत ल्याएका थिए । त्यतिखेर एमाले र माओवादी मिलेर देशैभर चुनाव लडेका थिए । परम्परागत रूपमा बलियो क्षेत्र भएकाले पनि जित्न कठिनाइ नहुने जसपाको दाबी छ ।
टुुरिस्ट उम्मेदवार जनमतको मुद्दा
आफूसँग सप्तरी २ मा १८ हजार ६३ मतले पराजित भएका उपेन्द्र यादव उम्मेदवार बनेपछि जनमत अध्यक्ष सीके राउतले कुशवाहालाई पार्टीमा प्रवेश गराएर उम्मेदवार बनाएका हुन् ।
जसरी पनि यादवलाई हराउने नीति लिएर राउतको पार्टी गठबन्धनसहितका दलविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको हो । गठबन्धनमा आबद्ध दल उपेन्द्रको पक्षमा लागेपछि पाएको एउटा मन्त्रालय पनि छाडेर राउत निर्वाचनमा होमिएका छन् ।
४ मंसिरको निर्वाचनमा जसपा र स्वतन्त्रको तुलनामा जनमतको मत असाध्यै कम देखिन्छ । यसैले जीतसम्म पुग्न जनमतका उम्मेदवारलाई निक्कै मेहनत गर्नुपर्ने हुन्छ । तर पनि माओवादीमा छँदा शिवचन्द्रप्रसाद कुशवाहा ३५४ मतले मात्रै पछाडि परेकाले जनमत पनि भावी प्रतिस्पर्धालाई लिएर उत्साही छ । यो मत कांग्रेस र माओवादीको संयुक्त हो । जसपाका अध्यक्ष यादव अध्यक्ष राउतसँग शर्मनाक पराजय बेहोरेर फेरि प्रतिनिधिसभा छिर्न खोजेको विषयलाई जनमतले ठूलो इश्यु बनाइरहेको छ ।
‘देशभरीका जनताको अपेक्षा ठूलो छ । परिवर्तनका आकांक्षी करौडौं जनता आँखा टोलाएर बसेका छन् । विगत १० वर्षदेखि लागेका लाखौं कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि काँधमा छ । देश र समाजको जिम्मेवारी एकातिर, मनको आकर्षण संन्यास र अध्यात्ममा लीन हुने तिर, अनि पारिवारिक जिम्मेवारी अर्कोतिर लथालिङ्ग छ,’ राउतले बुधवार सामाजिक सञ्जालमा लेखेका छन्, घरमा बुवा डेन्टिस्ट कहाँ लगिदिन र वृद्ध आमा अपरेसनको प्रतीक्षामा छिन् । बिरामी छोरी छट्पटाई रहँदा अस्पताल लैजाने कोही छैनन् । छोराको पढाइ कहाँ पुग्यो थाहा छैन । मचाहिँ नरन्तर बटुवाझैँ संगठनको काममा कहिले यता त कहिले उता भौँतारिँदैछु ।’
उम्मेदवारी मनोनयन नगर्दैदेखि राउत बारा २ का गाउँ बस्तीमा चहारिरहेका छन् । उपनिर्वाचनको मुखैमा खानेपानी मन्त्री अब्दुल खानलाई फिर्ता बोलाएर जनमतले आफू सत्तामुखी नभएको सन्देश दिन खोजेको छ ।
प्रतिष्ठित उम्मेदवारको फाइदा उठाउने दाउमा रास्वपा
रास्वपाले उपनिर्वाचन अन्तर्गत चितवन २ मा रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा पूर्व डीआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ । तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवार बनाएको रास्वपाले यी उम्मेदवार नै आफ्नो जीतको आधार रहेको दाबी गरेको छ ।
प्रतिस्पर्धीबीच भोट बाँडिँदा आफूहरूले जित्न सक्ने दाबी रास्वपाको छ । प्रहरी सेवामा रहँदा तराई मधेशका बारा, पर्सासहितका ठाउँमा राम्रो छवि बनाएको र रास्वपाप्रति आकर्षण रहेकाले यादव, कुशावाहा र पौडेविरुद्ध जीत निकाल्ने अभियानमा रास्वपा रहेको छ ।
नागरिकता प्रकरणमा सांसद पद गुमाएर फेरि उम्मेदवार बनेका रवि लामिछानेले एककाविरुद्ध तीनजना सांसद लिएर संसद् छिर्ने दाबी गर्दै आएका छन् ।
प्रतिस्पर्धा एक्लै जित्ने दाउमा एमाले
आफूविरुद्ध सत्ता गठबन्धन उभिँदा एमाले भने एक्लै निर्वाचन जित्ने दाउमा छ । मधेशीमूल बाहुल्य क्षेत्र भए पनि एमालेले पहाडीमूलका पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
चुनावी प्रचारका लागि केन्द्रबाट अध्यक्ष केपी ओली चुनावी बारा २ मा पुग्दैछन् । मधेशकेन्द्रित उम्मेदवार यादव र कुशावाहाबीच भोट बाँडिदा आफूहरूले जित्ने दाबी एमालेको छ ।
जसपाका उपेन्द्र र जनमतका राउतको प्रतिष्ठाको लडाईंको बीचबाट जीत हात पार्ने दाउ एमालेले हेरिरहेको छ । बारा २ मा ३६ जना उम्मेदवार छन् । धेरै उम्मेदवार हुँदा अन्यत्र भोट बाँडिने र आफूहरूले जित्ने दाबी उम्मेदवारहरूले गर्ने गरेका छन् ।
एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलाई यो क्षेत्रमा खटाएको छ । आफ्नो विरुद्धमा रहेका यादव, कुशवाहा र खरेल तीनैजना पराजय बेहोरेर आएका उम्मेदवार रहेको भन्दै एमालेले यसलाई इश्यु बनाएर भोट मागिरहेको छ ।
बारा २ मा २०४८ र २०५६मा पनि आफूहरूले जितेको भन्दै यसपटक पनि जित्ने दाबी उम्मेदवार पौडेलले गरेका छन् ।
‘यो हामीले परम्परागत रूपमा जित्दै आएको क्षेत्र हो । अघिल्ला दुई प्रतिस्पर्धामा हामी उम्मेदवार थिएनौं । तर परिवर्तनकामी पार्टी भएकाले एमालेप्रति मतदाताको आकर्षण छ,’ उनी भन्छन्, ‘यसैले पनि फेरि पनि हामी जित्छौं भन्नेमा छौं । एमाले मधेशी, मुस्लिम र उत्पीडितसहितका सबै जनताको पार्टी भएकाले पनि जीत हामीबाट टाढा छैन ।’