
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताएका छन्।
बिहीवार संसद भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सरकार साझा न्यूनतम कार्यक्रम बनाउने कुरामा मात्रै सीमत हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताए।
उनले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको पनि बताए। सरकार सत्ता स्वार्थमा र भागबन्डामा केन्द्रित भएको उनको आरोप थियो। उनले न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्न ल्याइने विषय रहेको उल्लेख गरे।
उनले भने, ‘सरकार साझा न्यूनतम कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने विषयमा सरकार साझा न्यूनतम कार्यक्रम बनाउने कुरामा मात्रै केन्द्रित हुने, त्यसको कार्यान्वयन सरकारको विषय नबन्ने यो मुल समस्या हो । शुरूको सरकार बन्दा पनि हामीले उन्नत खालको न्यूनतम साझा कार्यक्रम बनाएका थियौँ । त्योभन्दा उत्तम बन्न सक्ने स्थिति छैन, तर त्यो सरकारको मुख्य कार्यान्वयको विषय बनेन । यो सत्ता स्वार्थमा र भागबन्डामा केन्द्रित छ ।'
शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरूमा बजेट कटौती गरिएको गर्ने अभियान जारी रहेको उनले बताए।
'आर्थिक संकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्न थालिएको छ, त्यो भनेको सरकारले विद्यमान आर्थिक संकट के हो ? भन्ने विषयलाई मुख्य विषय बनाएर छलफल गरी समाधान गर्नुपर्ने हो, त्यसतर्फ सरकारको कुनै चासो छैन,’ उनले भने।
सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरणका विषयहरूमा बजेट कटौती गर्ने खबर पाएको भन्दै आर्थिक संकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताए।