
नियमविपरीत काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बन्धित नियामक निकायहरूलाई निर्देशन दिएका छन्।
बिहीवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले सहकारीप्रतिको नागरिकमा विश्वास टुट्न दिन नहुने बताए।
ऐन कानून र सहकारी सिद्धान्त मूल्य,मान्यताअनुसार सञ्चालन गर्दा समस्यामा परेका सहकारीको समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रचण्डले प्रतिबद्धता जनाए।
आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सरकार सहकार्य गर्न तयार रहेको उनले बताए।
राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका खेल्दै आए पनि पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकाले अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको भनाइ राखे।
मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई शशक्त रूपमा स्थापित गराउन सरकार आवश्यक पहल गर्न तयार रहेको पनि उनको भनाइ थियो।