
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गरेका छन्।
बिहीवार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि उनले अहिलेको न्यूनतम साझा कार्यक्रममा यसअघिको सरकारसँग रहेका दलहरू र अहिलेका सरकारमा रहेका दलहरूकै साझा रूपमा कार्यक्रम राखिएको बताए।
न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाई अघि बढ्नसमेत उनले निर्देशन दिए।
‘सरकारको न्यूनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रम, यसअघिको गठबन्धनबाट म प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रमसमेतलाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई अझ व्यवस्थित रूपमा सरकारको यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम बनेको छ,' प्रचण्डले भने, 'मैले अघिल्लो पटक न्यूनतम कार्यक्रम घोषणा गर्दै गर्दा सबै राजनीतिक दलहरूलाई र नेपाल सरकारका सबै कर्मचारीलाई कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न निर्देशन गरेको थिएँ ।
यो ड्राफ्ट भेट्ने बुद्धिजीवीले यो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम धेरै वैज्ञानिक रहेको प्रशंसा गरेका उनले दाबी गरे।
'यो साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान हुनेछन् । यो विकसित र परिमार्जित भएर आएको छ । अहिले भएका १० दल र पहिलाको सरकारमा भएका पार्टीहरूको पनि दिमाग लागेको छ । त्यसैले भन्ने हो भने यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम भन्न सकिन्छ । यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो,’ प्रचण्डले भने।