
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ मध्ये १५२ सांसदले मासिक घरभाडा बुझ्न थालेका छन् । काठमाडौंमा घर भएका कतिपय सांसदले समेत घर नभएको भनेर पनि भाडा बुझेका छन् ।
राजधानी काठमाडौं उपत्यकामा घर नभएका सांसदले कानूनअनुसार नै मासिक घरभाडा पाउँछन् । संघीय संसद्का पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ मा ‘काठमाडौंमा घर नभएका प्रत्येक सदस्यलाई अनुसूची ९१० बमोजिमको रकम आवास सुविधाबापत दिइने’ व्यवस्था छ ।
सोही नियमको उपदफा २ मा काठमाडौंमा घर हुने सांसदले आवास मर्मत सम्भारबापत भाडाको आधा रकम पाउने व्यवस्था छ । पुस २५ गते सांसद पदको शपथ गरेको दिनदेखि नै सांसदहरूले मासिक घरभाडा पाउन थालेका छन् ।
संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा १५२ जनाले काठमाडौं उपत्यकामा घर नभएको जनाएको उल्लेख छ । १ सय १२ जनाले काठमाडौं उपत्यकामा आफ्नो घर भएको विवरण सचिवालयलाई दिएका छन् ।
००००
सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गरेका छन्।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेको जानकारी गराए।
००००
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज शुक्रवारदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले बारा २, चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू गरेको जनाएको छ ।
००००
सरकारले न्यूनतम् साझा कार्यक्रम घोषणा गरेको छ। सिंहदरबारमा एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रवधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता तथा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
न्यूनतम् साझा कार्यक्रममा विस्तृत शान्ति सम्झौतालगायत गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने र भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने बुँदाहरू उल्लेख छन्।
विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबीच भएका सहमति र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिबद्ध रहँदै यो कार्यक्रम ल्याएको मन्त्री शर्माले दाबी गरेकी छन्।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।
उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे ।
००००
यसैगरी नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताएका छन्।
००००
नियमविपरीत काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित नियामक निकायहरूलाई निर्देशन दिएका छन्।
बिहीवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले सहकारीप्रतिको नागरिकमा विश्वास टुट्न दिन नहुने बताए।
००००
रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीान भएको बलेरो दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो बिहीबार अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।
००००
ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ ।
कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययमा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको हो ।
००००
अनुसन्धानका लागि निलम्बनमा परेका त्रिभुवन विमानस्थलका निवर्तमान महाप्रबन्धक प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा भएको छ ।
थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले कुराकानी गरेको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्न भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पत्रानुसार नागरिक उड्डयन प्राधिकरणले गत माघको अन्तिम साता ठाकुरलाई निलम्बन गरेको थियो ।
०००
एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो ।