
आजबाट प्रदर्शनमा आएको ‘बहाव’मा अभिनेत्री सुरक्षा पन्तले दिएको ‘टङ किस’को दृश्यलाई लिएर फिल्मवृत्त गर्माएको छ ।
बुधवार राजधानीमा गरिएको प्रिमियरपश्चात उक्त दृश्यलाई लिएर चर्चा सुरु भएको हो ।
फिल्म सुरु भएको केही समयमै सुरक्षा पन्त र नवकलाकारको केही सेकेण्डको चुम्बन दृश्य आउँछ । प्रिमियरमा उक्त दृश्य आएपछि हलमा हुटिङ समेत भएको थियो ।
सुरक्षाको फिल्म करिअरमा पहिलोपटक यस्तो दृश्यले प्रिमियरमा उपस्थित भएका अतिथिहरू ‘सक्ड’ भएका थिए ।
फिल्म प्रचारप्रसारका क्रममा समेत निर्माण टिम र कलाकारले यसबारे केही बताएका थिएनन् । यो चुम्बनको दृश्य नेपाली फिल्ममा अहिलेसम्मकै लामो भएको समेत कतिपयको भनाई छ ।
चलचित्र जाँच समितिले उक्त दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको थियो । फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएपछि भने कन्भिन्स भएर फिल्मलाई चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट दिएको निर्देशक प्रमोद कंडेलले जानकारी दिएका छन् ।
फिल्मभित्र शीर्ष पात्रहरूको सम्बन्ध स्थापनाका लागि उक्त दृश्यको प्रयोग गरिएको छ ।
उक्त दृश्यलाई लिएर चर्चा भइरहँदा कतिपयले भने गुनासो गरेका छन् । फिल्ममा चर्चा गर्न लायक अन्य थुप्रै कुराहरु भएपनि चुम्बन दृश्यको मात्र अनावश्यक रुपमा चर्चा भएको प्रिमियरमा फिल्म हेरेकाकतिपयको धारणा छ ।
श्रीधर पौडेल निर्माता रहेको यो फिल्ममा कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट र ईश्वरी सिंह लगायतको अभिनय छ ।