२६ जेठ २०८३, मंगलबार

निर्वाचन क्षेत्रः संसद् १६५, प्रदेश ३३०, कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?

कात्तिक २०, २०७४
निर्वाचन क्षेत्रः संसद् १६५, प्रदेश ३३०, कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?

काठमाडौँ, १५ भदौ - प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार प्रतिवेदन बुझाएको छ । आयोगले सङ्घीय अर्थात् प्रतिनिधिसभाको लागि १६५ र प्रदेश सभाको लागि ३३० सदस्य क्षेत्र सीमा निर्धारणसहित प्रतिवेदन बुझाएको हो ।7-pradesh
प्रधानमन्त्री निवास बालुबाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । त्यस अवसरमा अध्यक्ष दासले प्रतिवेदन तयारीका क्रममा अवलम्बन गरिएको प्रक्रिया र प्रतिवेदनको सार विवरण जानकारी गराएका थिए । उनले सरकारको कार्यादेशअनुसार सकेसम्म सबै पक्षसँग सुझाव लिएर तोकिएको समय सीमाभित्रै प्रतिवेदन बुझाइएको स्पष्ट गरे , गोरखापत्रमा खबर छ ।


नेपालको भौगोलिक अवस्था, जनसङ्ख्याको वितरण र सामाजिक विविधतालाई दृष्टिगत गरेर जनसङ्ख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत भार दिएर क्षेत्र निर्धारण गरिएको आयोगले जनाएको छ । थप भएका दुई जिल्लासहित ७७ जिल्लालाई समेटेर तयार पारिएको आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभाको लागि प्रदेश नम्बर १ मा २८, प्रदेश नम्बर २ मा ३२, प्रदेश नम्बर ३ मा ३३ , प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ वटा सङ्घीय
निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रदेशसभामा भने प्रतिनिधिसभामा कायम भएका सदस्यको दोब्बर सदस्य रहने संवैधानिक व्यवस्था छ ।
आयोगले सबैभन्दा बढी काठमाडौँमा १० निर्वाचन क्षेत्र कायम गरेको छ भने मोरङमा छ वटा क्षेत्र निर्धारण गरिएको छ । त्यस्तै झापा, रूपन्देही र कैलाली गरी तीन जिल्लामा पाँच÷पाँच निर्वाचन क्षेत्र निधारण गरिएको छ । तराईका नौ जिल्लामा चार÷चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ती जिल्लाहरू सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा छन् ।
त्यस्तै २१ जिल्लामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ती जिल्ला क्रमशः इलाम उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, नवलपरासी वर्दघाट सुस्तापूर्व, नवलपरासी वर्दघाट सुस्तापश्चिम, पाल्पा, गुल्मी, बाग्लुङ, बर्दिया, सुर्खेत, दैलेख र अछाम छन् ।
आयोगले बाँकी ३५ जिल्लामा एउटा निर्वाचन क्षेत्र कायम गरेको छ । ती जिल्लामा पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालिकोट, बाजुरा, हुम्ला, डोटी, बझाङ, डडेलधुरा, बैतडी र दार्चुला रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्