२३ जेठ २०८३, शनिबार

जब नेपाली युवती किनेको बिल देखाउँदै ओमानी नागरिक दूतावास आइपुगे..

कात्तिक २०, २०७४
जब नेपाली युवती किनेको बिल देखाउँदै ओमानी नागरिक दूतावास आइपुगे..
काठमाडौँ, १५ भदौ- एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन । ‘मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?’ उनी भन्दै थिए, ‘उनलाई नेपाल होइन, मैले नै घर लैजान पाउनुपर्छ ।’mahila

आफूलाई ती ओमानीले कुटपिट र मानसिक यातना दिएको भन्दै दूतावास आएकी ती युवती भने फर्केर उसकै घर जाने पक्षमा थिइनन् । दूतावासले नेपाली युवतीलाई नेपाल पठाउन निकै प्रयास गरे पनि ओमानीले मान्दै मानेनन् । ‘मैले उनलाई ल्याउन निकै दु:ख गरेको छु । १८ सय रियाल (चार लाख ७८ हजार रुपैयाँ) तिरेको छु,’ खल्तीबाट झिकेर बिल देखाउँदै ती ओमानीले भने, ‘यो रकम कसले फिर्ता दिन्छ ?’

ती युवती दलालमार्फत भारत हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान पुगेकी थिइन्, कान्तिपुरमा खबर छ । त्यहाँको घरेलु कामदार बिक्री गर्ने एजेन्सीबाट ती ओमानीले उनलाई खरिद गरेर आफ्नो घर लगेका थिए । ‘उनलाई नेपाल पठाउने भए मैले तिरेको रकम दूतावासले दिनुपर्छ,’ ओमानीले जिद्दी गरिरहे । ‘दूतावासमा आइसकेको नेपालीलाई फिर्ता पठाउन मिल्दैन,’ ओमानीलाई सम्झाउँदै राजदूत शर्मिला पराजुलीले भनिन्, ‘नेपालबाट घरेलु कामदार ल्याउन रोकिएको छ । त्यसरी रकम तिरेर ल्याउने काम गैरकानुनी हो ।’

तैपनि ओमानी मान्ने सुरमा देखिएनन् । ‘लान नदिने हो भने यिनलाई म चोरीको मुद्दा हाल्छु, नेपाल फर्कनै दिन्नँ,’ ओमानीले धम्क्याए । र, युवतीको राहदानी फिर्ता नदिई आफ्नो बाटो लागे ।

बिल देखाउँदै आफ्ना घरेलु कामदार लिन आउनेहरू धेरै भएको दूतावासका कर्मचारी बताउँछन् । ‘यसरी बिल देखाउँदा दूतावासलाई अप्ठ्यारो पर्ने गरेको छ । भागेर दूतावास आइपुगेका हाउसमेडलाई स्पोन्सरको सहयोगबिना पठाउन मुस्किल नै हुन्छ । उनीहरूले चोरीको मुद्दा हालिदिए झन् समस्या आइपर्छ,’ दूतावासका कर्मचारी भन्छन् । दूतावासले त्यसरी आउनेलाई सकभर सम्झाएर फर्काउने प्रयास गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्