
दोस्रो संस्करणको मिल्स क्रिकेट टी–२० प्रतियोगिताको उपाधि भारत बिहारको राहुल–११ नरपथगञ्जले जितेको छ ।
विराटनगरको जुट मिलको खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरलाई ३ विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो ।
जीतसँगै नरपथगञ्जले १ लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
१५८ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशमलव २ बलमा ७ विकेट गुमाई पूरा गर्यो । नरपथगञ्जका भानु आन्दले ३५ बल खेल्दै ६ छक्का र ४ चौका प्रहार गर्दै ६३ रन बनाए । उनी प्लेयर अफ द म्यान घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । नरपथगञ्जका विजय भारतीले ३६ रन र साहिल कुमारले २५ रन बनाए ।
विराटनगरका विधान गोस्वामीले ४ विकेट लिए भने साकिबुल गनीले २ र मोहित कुमारले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । विराटनगरका रोहन बिकेले ४४ रन, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका लागि अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २/२ विकेट लिए ।
उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए भने उत्कृष्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव बने । प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले नगद ५ हजार प्राप्त गरे ।
विजेता टोलीलाई नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह र वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए ।