
चितवनको भरतपुर महानगरपालिका र गुल्मीको रूरू गाँउपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाले शुक्रबार रुरु क्षेत्रमा एक कार्यक्रमका बीच सम्झौता गरेका हुन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रूरू गाँउपालिका प्रमुख यदु ज्ञावालीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रमणीय तथा धार्मिक क्षेत्रको पहिचान बनाएको रूरू गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिन् ।
भरतपुर महानगरपालिकाले विदेशका विभिन्न देशका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरी दुई पक्षिय हितमा काम गरिरहेको बताउदै अब देशका विभिन्न पालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्ने नीति लिए बमोजिम रूरू गाँउपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको उल्लेख गरिन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ वुद्धि जिसीले भरतपुर महानगरपालिका र रूरू गाउँपालिका बीच भगिनि सम्बन्ध कायम गरेकोमा दुवै तहलाई धन्यवाद दिदै विकास र सुसासनको केन्द्र बन्दै गएको भरतपुरबाट रूरू गाउँपालिकाले लाभ हाँसिल गर्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा रूरू पालिकाका प्रमुख यदु ज्ञावालीले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरी सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुई पालिकाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।