
सरकारी वार्ता टोलीले आज मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग गृह मन्त्रालयमा वार्ता गर्ने भएको छ ।
आइतवार शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर पहिलो चरणको वार्ता गरेको टोलीले आज सोमवार गृह मन्त्रालयमा वार्ता गर्ने सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
‘आइतवार दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, सोमवार १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ,’ कोइरालाले भने, ‘दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।’
यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित संघर्ष समितिले ६ बुँदे माग राखेका छन् । उनीहरूले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको वार्ता टोली गठन गरेका थिए ।
मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसूरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरूको रहेको संघर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।