बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ ।
खानेपानी अभावले सास्ती भएको ५ कक्षामा अध्ययनरत अञ्जनी कुम्हार बताउँछिन् ।
‘विद्यालयमा शौच गर्न सधैं समस्या हुन्छ, पानीको व्यवस्था छैन,’ उनले भनिन् । कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ ।
विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ । पिउनलाई शुद्ध पानीको अभाव छ ।
‘पानी किनेर पिउनुपर्ने बाध्यता छ,’ ५ कक्षामा अध्ययनरत कल्पना यादवले भनिन्, ‘विद्यार्थीले सधैं पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौं ।’
शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछिन् । शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् ।
विक्रम संवत् २०१७ सालमा स्थापना भएको विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन् । उनले भनिन्, ‘वडाले आश्वासन त दिएको छ तर हालसम्म केही सुरसार छैन ।’
३९ विद्यालय रहेको पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय । विद्यालयमा भौतिक संरचना जीर्ण छ । २ वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको पधानाध्यापक देव रानाले बताए ।
‘टालटुल गरेर पठनपाठन भइरहेको छ,’ उनले भने । जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताएका छन् ।