
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले स्पष्टीकरण बुझाएका छन् । पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणअनुसार उनले सोमबार पार्टी अनुशासन आयोगसमक्ष जवाफ पेश गरेका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग पार्टीको नाममा दुई करोड मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । लगत्तै पार्टीले आइतबार उनलाई स्पष्टीकरण सोधेको थियो ।
रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटासमक्ष उनले बुझाएको स्पष्टीकरणपत्रमा आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन् । उनले अडियो सम्पादन भएर आएको जिकिर गरेपनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएका छन् ।
आइतबार पनि उनले एक विज्ञप्तिमार्फत आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए । यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका उनले अडियो सम्पादन भएकै कुरा बताएका थिए । तर, पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ।
पार्टीको निर्णयअनुसार सोधिएको २४ घण्टे स्पष्टीकरण साँझ प्राप्त भएसँगै अनुशासन समितिको बैठक मंगलबार बिहान बस्ने बताइएको छ । समितिलाई ७२ घण्टाको समय दिइएअनुसार यसबारे आवश्यक निर्णय लिइने देवकोटाको भनाइ छ ।
आयोगले आवश्यक निर्णय गरेर केन्द्रीय समितिलाई कारबाहीका लागि सिफारिस गर्नेछ । श्रेष्ठको अडियो सार्वजनिक भएसँगै रास्वपालाई चुनावको मुखमा गम्भीर र नैतिक प्रश्न खडा भएको छ । यसबारेमा सभापति रवि लामिछानेले दोषीलाई घिसारेर सडकमा ल्याइने बताइसकेका छन् ।