
उद्यमशीलता अध्यापनमा नेपालकै अग्रणी, किंग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्न लागेको छ ।
शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको सिकाइमा जोड्ने उद्देश्यका साथ कलेजले अर्को वर्षको असार ४ गतेदेखि ९ हप्तासम्मका लागि काभ्रेस्थित पाँचखाल नगरपालिकामा कार्यक्रम सञ्चालन गर्न लागेको घोषणा गरेको छ ।
समुदाय आफैंमा एउटा महत्त्वपूर्ण पाठ्यक्रम हो भन्ने अवधारणामा आधारित रहेर सञ्चालन गर्न लागेको शैक्षिक कार्यक्रममा कक्षा १२, ए लेभल्स् तथा सो सरहका परीक्षा दिएका विद्यार्थीहरू सहभागी हुन पाउने कलेजले बताएको छ । कार्यक्रमका दीक्षितहरूले प्राप्त गर्ने क्रेडिटलाई किंग्स् कलेज, संयुक्त राज्य अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटी र फिनल्यान्डस्थित कायानी युनिभर्सिटी अफ एप्लाइड साइन्सले अनुमोदित गर्ने कलेजले जनाएको छ ।
‘समुदायमा असंख्य ज्ञान, सीप, प्रविधिका साथसाथै अनेकन कथा र अनुभव हुन्छन्,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले कार्यक्रमबारे भने, ‘शिक्षण संस्था एक्लैले जीवन र जगतका बहुआयामिक पक्षहरू सिकाउन सम्भव छैन । जसको कारण समुदाय र शैक्षिक संस्थाहरूको सहकार्य महत्त्वपूर्ण रहन्छ ।’
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कार्यक्रमले शिक्षामा आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
शिक्षालाई जीवन, समुदाय र सीपसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै उनी भन्छन्, ‘शैक्षिक हबको रूपमा अगाडि बढेको पाँचखाल नगरपालिकासँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमप्रति हामी उत्साहित छांै ।’
विद्यार्थी र समग्र समुदायको सहकार्यमा उत्पादन हुने ज्ञानलाई कार्यान्वयन गर्न पनि नगरपालिका तत्पर रहेको खरेलले जानकारी दिए ।
कार्यक्रमको समग्र नेतृत्व गरिरहेका प्राध्यापक उद्ग खड्काले कार्यक्रमको डिजानदेखि कार्यान्वयनसम्ममा समुदाय र उद्योगको सहभागिता हुने बताए । ‘नेपालको उच्च शिक्षालाई माटो सुहाउँदो र जीवनोपयोगी बनाउन ‘कम्युनिटी’ र ‘युनिभर्सिटी’ जोड्ने यस पहलले नयाँ मानक स्थापना गर्दछ भन्ने कुरामा हामी ढुक्क छौं,’ उनी अगाडि थप्छन् ।
कलेजले कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कारखाना, एफ वान सफ्ट, फुडमान्डु र काठमान्डु अर्गानिक्स उद्योग साझेदारका रूपमा रहने जानकारी दिएको छ । स्थानीय समुदायबाट प्रत्यक्ष साझेदारी पाँचखाल नगरपालिका र सर्वमंगला कलेजसँग गरिएको छ ।