१७ असार २०८३, बुधबार
चलेका गीतहरू

संगीत क्षेत्रमा वर्ष २०७९ : धेरैपछि गजलको चर्चा, यी हुन् बढी चलेका केही गीत

चैत २८, २०७९
संगीत क्षेत्रमा वर्ष २०७९ : धेरैपछि गजलको चर्चा, यी हुन् बढी चलेका केही गीत

अघिल्ला दुई वर्षको तुलनामा २०७९ सालमा सांगीतिक क्षेत्र थप चलायमान रह्यो । कोरोना महामारीका कारण सुस्ताएको स्टेज कार्यक्रम यस वर्षदेखि लयमा फर्कियो ।

यस हिसाबले पनि सांगीतिक क्षेत्रमा चर्चामा रहेका कलाकारहरू लगभग वर्षैभरी विदेश एवं स्वदेशका स्टेज कार्यक्रमको दौडधुपमा रहे । 

संख्याको हिसाबले यस वर्ष पनि सयौं गीतहरू युट्युबमा आए । स्रोता–दर्शकले रुचाउने र राम्रो भ्युज पाउने गीतहरू भने कमै संख्यामा आए । जसका कारण धेरै गीतमा गरिएको लगानी बालुवामा पानीसरह नै भयो । 

यद्यपि, केही गीतहरूले भने स्रोता दर्शकको मन जित्दै युट्युबमा राम्रो भ्युज पाए । र, आफ्नो लगानी सुरक्षित गर्दै नाफामा समेत जान सफल भए । 

यस वर्ष चर्चामा रहेका गीतहरूको कुरा गर्दा फरक–फरक जनराबाट प्रतिनिधित्व देखियो । 

एकातर्फ संगीतमा अलग जनराको प्रतिनिधित्व गर्ने सज्जनराज वैद्य, स्वप्न सुमन इत्यादिका गीतहरूलाई स्रोता दर्शकले रुचाए ।

अर्कोतर्फ शिव परियार, हिमाल सागर, उर्गेन दोङदेखि पशुपति शर्मा, शान्तीश्री परियार लगायतका गीतहरू पनि चर्चामा रहे । 

वर्षौंपछि गजल गीतको लोभलाग्दो चर्चा यस वर्ष देखियो । केही फिल्मी गीतहरूले समेत स्रोता–दर्शकको मन जिते । 

‘घुमी घुमी’देखि ‘जे छौ तिमी’सम्म

वर्षको शुरूआतमा वैशाखमा सार्वजनिक ‘घुमी घुमी’ बोलको गीतले स्रोता/दर्शकलाई फरक खालको स्वाद दियो । 

शान्तीश्री परियार र सुजन चापागाईंद्वारा स्वरबद्ध एवं विपिन कार्की र अञ्जना बराइली अभिनित गीत रुचाइयो । गीतले टिकटकमा चर्चा पायो । युट्युबमा पनि राम्रै भ्युज बटुल्यो ।

वसन्त विश्वकर्माको ‘रेलीमै’, प्रशान्त पौडेलको ‘सान्नानी जाम पोखरा’, बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको ‘परान बाँकी छ’ लगायत गीतले स्रोता दर्शकबाट एक खालको माया पाए । उर्गेन दोङको ‘टाढा भए पनि २’ पनि राम्रै चल्यो । 

सन्तोष सुनारको ‘छम्मक छम्मक’ शीर्षकको गीतलाई रुचाइयो । उक्त गीतको भिडियोलाई ८ महिनामा ३ करोड प्लस भ्युज मिलेको छ । 

तीजमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध ‘झमझम झम्काना’ सर्वाधिक घन्कियो । शान्तीश्री परियारद्वारा स्वरबद्ध ‘खोली तारी देऊ न माझी दाइ’, पशुपति शर्माको ‘आफ्नो आफ्नो दुःख’ लगायतका गीतहरू पनि चर्चामा रहे । 

६ महिनाअघि उर्गेन दोङले सार्वजनिक गरेको ‘लजालु मायालु’ बोलको गीतलाई स्रोता दर्शकले औधी रुचाए ।

त्यसबेला टिकटकमा निकै छाएको गीतले अहिलेसम्म युट्युबमा ४ करोड ४ लाख प्लस भ्युज पाउन सफल छ । यो वर्षकै सर्वाधिक हेरिएको गीत हो । उर्गेन र बेनिशा पौडेलको युगल स्वर रहेको ‘हाम्रो यो माया’ गीत पनि स्रोता दर्शकहरूले रुचाए । 

समीर श्रेष्ठको ‘हेरन’, सज्जनराज वैद्यको ‘धैर्य’लगायतका अलग जनराका गीतहरू पनि स्रोता दर्शकहरूको निकै रोजाइमा परे । 

शिव परियारको स्वरमा सार्वजनिक ‘फूलै फूल दिन्छौ कि’को रिमेक भर्सन राम्रै चल्यो । आशिष अविरलको ‘छुनुमुनु छुनुमुनु’ शीर्षकको गीतले पनि राम्रो भ्युज पायो । 

डोमा ह्याल्मो युट्युबमा चार महिनाअघि सार्वजनिक ‘कालो चस्मा लाऊ भन्छ...’ गीत निकै चल्यो । विशेषगरी यस गीतको टुक्कामा टिकटक बनाउनेहरू बढ्दै गएसँगै गीतले राम्रो भ्युज पाउँदै गयो ।  उक्त गीतको भिडियोले २ करोड ७ लाख प्लस भ्युज पाइसकेको छ । 

शान्तीश्री परियार र निश्चल दवाडीको स्वर रहेको लोकदोहोरी गीत ‘सोल्टी बजार’ले पनि राम्रो चर्चा पाउन सफल रह्यो । 

यता प्रकाश दूतराजको ‘मन भुल्छ’, ‘जुन माया’सँगै उनले भूमिका गिरीसँग मिलेर गाएको ‘देउरालीमा’बोलको गीतलाई पनि रुचाइयो । 

हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया...’ वर्षको हिटमध्ये शीर्षस्थानमा पर्ने गीत हो । 

उक्त गीतमा लाखौं टिकटक भिडियो बनेका छन् भने भिडियोले ४ महिनामै २ करोड प्लस भ्युज पाउन सफल रह्यो ।

यस्तै, गायक टंक तिमिल्सिनाको ‘मेरी चम्पा’ गीत पनि छोटो समयमै युट्युबमा करोड क्लबमा प्रवेश गर्‍यो । 

तिलकसिंह पेलाको स्वरमा स्वरबद्ध ‘के लत बस्यो मलाई’ बोलको गजल गीत यस वर्ष निकै छायो । दुई महिनाअघि सार्वजनिक यस गजलको सर्वत्र प्रशंसा भयो भने गजलमा लाखौंले टिकटक भिडियो बनाए । भिडियोले युट्युबमा भ्युज पनि राम्रो पायो ।

चैतमा सार्वजनिक हरिवंश आचार्यको ‘काउली’ शीर्षकको गीत पनि चर्चामा रह्यो भने दुई सातायता सार्वजनिक स्वप्न सुमनको गीत ‘जे छौ तिमी’ यतिबेला सर्वाधिक चर्चामा छ ।

स्वप्न सुमनको गीतमा लाखौं टिकटक भिडियो बनेका छन् भने भिडियोले ८४ लाख प्लस भ्युज पाइसकेको छ । दुई सातादेखि यो गीत ट्रेन्डिङ नम्बर वानमै छ । चर्चाको कुरा गर्दा गतवर्ष सार्वजनिक ‘धोकेबाज हौ तिमी’ गीत यसवर्ष पनि निकै चर्चामा रहन सफल रह्यो । 

फिल्मी गीत कति हिट ?

विगतका वर्षका फिल्मी गीतहरूले अन्य गीतको लोकप्रियतालाई उछिनेको पाइन्थ्यो । यसवर्ष भने फिल्मीभन्दा बाहिरी गीतहरू नै बढी चर्चामा रहे ।

यद्यपि, एकाध फिल्मी गीतले स्रोता दर्शकमाझ राम्रो चर्चा कमाए । ‘झिंगेदाउ’ फिल्ममा समावेश गीत ‘आगो विना बिँडी जल्दैन’लाई स्रोता दर्शकहरूले रुचाए । टिकटकमा निकै छाएको शान्तीश्री परियार र प्रवीन बेडुवालद्वारा स्वरबद्ध यो गीतको भिडियोले युट्युबमा ७५ लाख प्लस भ्युज पाएको छ । 

फिल्म ‘सम्हालिन्छ कहिले मन’मा समावेश ‘जरुरी कुरा छ’बोलको गीत पनि चर्चामा रह्यो । १ करोड २५ लाख भ्युज पाएको यो गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर छ । 

फिल्म ‘राधा’मा समावेश तीजविशेष गीत चर्चामा रह्यो । सज्जा चौलागाईँ र स्वस्तिका ढकालको स्वरमा रहेको ‘पाउमा पाउजु’ शीर्षकको उक्त गीतले झण्डै करोड भ्युज पाइसकेको छ । 

फिल्म ‘बाबरी’मा समावेश ‘बाबरी रंग’ पनि यस वर्षको चर्चित फिल्मी गीत हो । यसमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ । ‘फूलबारी’ फिल्ममा समावेश ‘माया रैछ र’ पनि यस वर्षको अर्को हिट फिल्मी गीत हो । यो गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर छ । 

फिल्म ‘छक्का पञ्जा ४’का भने दुईवटै गीत हिट हुन सफल भएका छन् ।ती गीतहरू हुन्, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको ‘दर्शन सलाम’ र बाबुल गिरीको स्वर रहेको ‘सिरुपाते जुंगामा’ । यी दुईवटै गीतहरू टिकटकमा निकै छाएका छन् भने युट्युबमा लोभलाग्दो भ्युज पाएका छन् ।

‘दर्शन सलाम’को भ्युज त १ करोड ७४ लाख प्लस पुगिसकेको छ । वैशाखको १ गतेबाट प्रदर्शनमा आउने ‘जारी’ फिल्मको गीत ‘चरी बस्यो’ पनि यतिबेला चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्