२९ जेठ २०८३, शुक्रबार
सरकार हुनुको अनुभूति दिलाउने प्रयास

नारायणकाजीको सक्रियता– विभागीय मन्त्री र राजदूतलाई लिएर धुलाम्मे राजमार्गमा दुई दिन

नारायणकाजीको सक्रियता– विभागीय मन्त्री र राजदूतलाई लिएर धुलाम्मे राजमार्गमा दुई दिन

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले साह्रै सुस्त गतिमा काम भइरहेका मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको स्थलगत निरीक्षण गरेका छन् ।

तीन महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अलपत्र सडक निरीक्षणमा निस्किएका श्रेष्ठले मन्त्रालय फेरिएपछि पनि त्यो कामलाई निरन्तरता दिएका हुन् । 

ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेका राजमार्गको निरीक्षणमा गृहमन्त्री श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चिनियाँ राजदूतलाई लिएर फिल्डमा उत्रिएका हुन् ।

राजधानी काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने यी राजमार्ग विस्तारको जिम्मा चिनियाँ ठेकेदारले पाएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ, ज्वाला, चिनियाँ राजदूत र एसियाली विकास बैंकका प्रतिनिधिसहितको टोलीले आइतवार र सोमवार ती सडकको स्थलगत अवलोकन गरेका हुन् ।  

ठेकेदारले सरकारलाई नटेर्ने र वर्षौंसम्म काम अलपत्र पार्ने समस्या रहेका बेला नारायणकाजी सरकारप्रति थोरै भएपनि भरोसा जगाउने शैलीमा काममा उत्रिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार भनेर चिनिने शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले अलपत्र पारेको भक्तपुर–नगरकोट सडकमा गएर नारायणकाजीले निश्चित समयमा काम पूरा नगरे कारवाही गर्ने चेतावनी दिएका थिए । 

त्यसको केही समयपछि सो ठेकेदार कम्पनी सरकारको कालोसूचीमा परेको थियो । ‘गृह प्रसाशन सक्षम नहुँदा विकास निर्माणको काम पनि प्रभावित भएको थियो, उहाँ(नारायणकाजी)को कार्यशैलीले विकास निर्माणको कामले गति लिने अपेक्षा गरेका छौं,’ सरकारका एक सचिवले लोकान्तरसँग भने ।

null

गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै नारायणकाजीले सुराकीको नाममा मन्त्री र सचिवले गरिरहेको मनोमानी खर्च खारेज गर्ने निर्णय गरेका थिए । मन्त्रिपरिषद्मा प्रस्ताव लगेर सो निर्णय कार्यान्वयनमा आइसकेको छ । गृहमा सुधारको काम थालेका मन्त्री श्रेष्ठले ठेकेदारले अलपत्र पारेका सडकको काममा ध्यान दिएका हुन् ।

संसदीय समिति, प्रधानमन्त्री र विभागीय मन्त्री एवं सचिवले पटक–पटक निर्देशन दिँदा पनि सडक विस्तारको कामले गति नलिएपछि उपप्रधानमन्त्री आफैं अनुगमनमा निस्केका हुन् । चैत–वैशाखको गर्मी र धुलोको प्रवाह नगरी श्रेष्ठ नेतृत्वको टोलीले दुई राजमार्गको अवलोकन गरेको थियो । 

null

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको ११३ किमी सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले पाएको छ । दाउन्ने पश्चिम खण्डको ७ अर्ब ८६ करोड र पूर्वी भागको १० अर्बको ठेक्का सोही कम्पनीले पाएको छ ।

२०७५ पुसमा ठेक्का सम्झौता भई गत कात्तिक २२ गतेसम्ममा निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत हाराहारी मात्र भएको छ । पछिल्लो समय कावासोती खण्डमा एउटा लेन पक्की गर्ने काम शुरू भएको छ । विस्तारको काममा ढिलाइ हुँदा पश्चिम नेपालको यात्रा गर्ने यात्रुले सास्ती खप्नुपरेको छ । 

null

निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले लापरवाही गरेपछि सरकारले दूतावासमार्फत पनि छिटो काम सम्पन्न गर्न ताकेता गरेको थियो । ठेकेदारको लापरवाहीले सीमा नाघेपछि मन्त्री श्रेष्ठ राजदूतलाई लिएर सडक अवलोकनमा निस्किएका हुन् ।

आइतवार र सोमवार उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोलीले आयोजनाका अधिकारी र स्थानीयसँग ठाउँ–ठाउँमा छलफल गरेको थियो । 

‘उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्री प्रकाश ज्वालासँग नारायणगढ–बुटवल राजमार्ग सुधार आयोजनाको निरीक्षण गर्न पाउँदा खुशी लाग्यो । सबै पक्षहरूको संयुक्त प्रयास विशेषगरी चिनियाँ र नेपाली कर्मचारीहरूको परिश्रमलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु,’ नारायणगढ–बुटवल खण्डको स्थलगत अवलोकनपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले भने ।

विभागीय मन्त्री, राजदूत र दाताका प्रतिनिधिलाई लिएर उपप्रधानमन्त्री अवलोकनमा निस्किएको यो दुर्लभ घटना हो । अवलोकनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले ठेक्का लिएर काम अल्मल्याउने काम स्वीकार्य नहुने बताएका थिए । 

null

मुग्लिङ–पोखरा सडकको कामले अब गति लिन्छः मन्त्री ज्वाला

मुग्लिङ–पोखरा सडकखण्डको कार्यप्रगति पनि अपेक्षाभन्दा कम छ । सडक विस्तारको कामका कारण सडकमार्ग हुँदै पोखरा पुग्ने यात्रुले सास्ती खेपेका छन् । 

गत मंसिरको निर्वाचनको समयमा मतदाताले राजमार्ग विस्तारमा भएको ढिलाइले जनस्वास्थ्यमा असर पारेको र व्यापार व्यवसाय चौपट भएको गुनासो उम्मेदवारहरूसँग गरेका थिए । उपचुनाव हुन गइरहेको यो क्षेत्रमा अहिले पनि मतदाताले सडक विस्ताको काममा भएको ढिलाइलाई लएर आक्रोश पोखेका छन् । 

मुग्लिङ–पोखरा सडकखण्डलाई दुईखण्डमा विभाजन गरेर काम भइरहेको छ ।

null

आँबुखैरेनी–जामुने (४१ कीमी) पूर्वी खण्ड र जामुने–पोखरा (३९ कीमी) पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरिएको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । ७ अर्ब ४० करोडको ठेक्का सम्झौता २०७८ जेठमा भएको थियो । 

पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । स्थलगत निरीक्षणमा निस्किएका भौतिक पूर्वाधार मन्त्री ज्वालाले मुग्लिन–पोखरा सडक खण्डको काम अब तीव्र गतिमा बढ्ने बताए ।

‘स्थलगत निरीक्षणपश्चात जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौं,’ मन्त्री ज्वालाले आइतवार दमौलीमा पत्रकारहरूसँग भने । 

यसअघि भक्तपुर–नगरकोट सडकको अवलोकनमा जाँदा श्रेष्ठ नेपालका लागि भारतीय राजदूतलाई लिएर गएका थिए । यस्तै काम शुरू हुन नसकेको चक्रपथको अवलोकनमा नेपालका लागि चिनियाँ राजदूतलाई लिएर फिल्डमा उत्रिएका थिए ।

प्रहरी र सीडीओको सरुवा बढुवामा चलखेल गर्नकै लागि नेताहरूले गृहमा मरिहत्ते गर्ने भन्ने परिभाषालाई नारायणकाजीले फेर्न खोजेको गृहका अधिकारीहरूको मूल्यांकन छ ।

 

salt training

कमेन्ट गर्नुहोस्