
वैशाख १ मा अब तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् ।
‘नाइँ नभन्नू ल ६’ निर्धारित मितिबाट पछाडि हटेसँगै ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।
चलचित्र विकास बोर्डले प्रदर्शनको ३ दिन अघिसम्म पनि सेन्सर सिफारिस नदिएको र शोको बाँडफाँडसमेत भइसकेकाले ‘नाइँ नभन्नू ल ६’ वैशाख १ मा प्रदर्शनमा आउन नसक्ने भएको निर्देशक विकासराज आचार्यले बताएका छन् । यद्यपि, विकास वोर्ड मंगलवार दिउँसो फिल्मलाई सेन्सर सिफारिस दिएको छ ।
यो फिल्म अब वैशाख १५ गतेबाट प्रदर्शनमा ल्याउने सोँचमा निर्माण टिम पुगेको छ ।
वैशाख १ मा प्रदर्शनमा आउने तयारीमा रहेका तीनवटै फिल्म विभिन्न कारणले चर्चामा छन् ।
यीमध्ये ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राईको मुख्य भूमिका रहेका फिल्म हुन् ।
उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा छन् ।
‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्मित यो फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बूलगायतको समेत अभिनय छ ।
यस्तै, प्रवेश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङ र प्रकृति श्रेष्ठ शीर्ष भूमिकामा छन् । उनीहरुका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, श्याम राई लगायतको पनि अभिनय छ । अर्को फिल्म ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, प्रकाश कंडेल, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
तीनमध्ये ‘जारी’ र ‘बुलाकी’को कथा उस्तै रहेको आँकलन फिल्मवृत्तमा छ ।
‘बुलाकी’ निर्देशकको गुनासो – सबै फिल्मलाई बराबर शो दिनुस्, दर्शक नआए हटाइदिनुस्
वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ ।
मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा ‘जारी’ फिल्मलाई सबैभन्दा बढी शो दिइएको छ । मंगलवार क्यूएफएक्सको वेवसाइट हेर्दा उक्त फिल्मलाई प्रदर्शनको पहिलो दिन ५३ शो दिइएको छ ।
त्यस्तै, ‘बिहे पास’ले ३२ शो पाउँदा ‘बुलाकी’लाई ११ शो मात्र दिइएको छ ।
फिल्मले कम शो पाएपछि यसका निर्देशक लक्ष्मण सुनारले आक्रोश पोखेका छन् ।
उनले सबै फिल्मलाई बराबर शो उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।
स्टार, ब्राण्ड र अस्वस्थ राजनीतिको चपेटामा आफ्नो फिल्म परेको उनको गुनासो छ ।
‘सबै फिल्ममा निर्माताको लगानी, सम्पूर्ण टिमको मेहनत जोडिएको हुन्छ । सबैलाई फिल्म दर्शकसामु पुर्याउनु छ । कृपया नजन्मेको शिशुको भ्रूण हत्या नगरिदिनुस्’ उनले फेसबुकमा लेखेका छन्, ‘पहिला २ शो दिने अनि केहीबेरमा १ शो घटाइदिने ! फिल्म हेर्न बाँकी नै छ त्यसैले यति हतार नगरिदिनुस् । शो घटाउने–बढाउने दर्शकको हातमा छोडिदिनुस । सबै फिल्मलाई बराबर शो दिनुस । दर्शकले माया नगरे हटाइदिनुस । त्यसमा हाम्रो गुनासो हुनेछैन ।’