
यस वर्षको हिट गीत ‘ए हो र माया...’को टिमले नयाँ गीत सार्वजनिक गरेको छ ।
मंगलवार सार्वजनिक ‘आहा माया’ बोलको गीतमा गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर छ ।
भिडियोमा मोडल विमल अधिकारी र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् ।
यो एक रोमान्टिक गीत हो । एक मायालु जोडीले एक अर्कालाई व्यक्त गरेको प्रेमभावलाई गीत र भिडियोमा पेस गरिएको छ ।
विमल र प्रियंका दुवै भिडियोमा रोमान्टिक देखिएका छन् ।

गीतमा विमल अधिकारीको शब्द एवं संगीत छ । कमल सौरागले गीतको एरेन्ज गरेका हुन् ।
मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो ।
‘ए हो र माया’मा पनि विमलकै शब्द र संगीत थियो भने हिमाल र अनुले स्वर दिएका थिए । मौसमकै निर्देशन रहेको उक्त गीतको भिडियो एक महिनामै करोड क्लबमा प्रवेश गरेको थियो ।
‘आहा माया’लाई जनकपुर, चितवनका मनोरम स्थानमा ३ दिन लगाएर खिचिएको हो । झन्डै ८ लाख रुपैयाँ यसको भिडियो निर्माणका लागि खर्च गरिएको जनाइएको छ ।
‘ए हो र माया’ले जस्तै यस गीतले पनि स्रोता दर्शकबाट माया पाउने विश्वास निर्माण टिममा छ ।
भावना म्युजिक सोलुशन युट्युब च्यानलबाट सार्वजनिक ‘आहा माया’लाई राजेश घिमिरेले छायाँकन, विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।