
कर्णालीतिरको कथा नेपाली फिल्ममा बिरलै हेर्न पाइन्छ ।
शुक्रवारबाट भने कर्णालीको जारी प्रथाको कथामा निर्माण गरिएको फिल्म ‘बुलाकी’ प्रदर्शनमा आएको छ ।
लक्ष्मण सुनार निर्देशित यो फिल्मले फस्टलुक पोष्टरबाटै एक किसिमको चर्चा पाएको थियो ।
खासमा ‘बुलाकी’ जारी प्रथाको कथा भएपनि यसलाई नि:सन्तान दम्पतीको कथा पनि भन्न सकिन्छ । किनकी सन्तान नहुँदा महिलाले परिवार र समाजबाट सहनुपर्ने अपहेलनाको कथा फिल्ममा राम्रै स्पेस दिएर पेस गरिएको छ । स्थानीय भाषा, संस्कृति, रहनसहन, भेषभुषा यो फिल्मका विशेषता हुन् ।
चन्द्र (नरेन खड्का) र हिरा (सुरक्षा पन्त)को विवाह भएको तीन वर्ष भएको छ । यति बेलासम्म यो जोडीको सन्तान हुन सकिरहेको छैन । सोहीकारण यो जोडी पीडामा छ । पीडाको कारण यो हो कि, समाजले सन्तान हुन नसकिरहेकोमा प्रश्न उठाउँछ । रूखो बचन बोल्छ ।
सन्तान नहुँदा सासु–आमाले दिनहुँजसो बोल्ने कठोर वचनले त झन बुहारीको मन भतभती पोल्दै आएको छ ।

यसैबीच, चन्द्र रोजगारीका लागि कालापहाडतिर लाग्छन्, एक वर्षपछि फर्किँदा सन्तान हेर्न पाउने आशामा । तर, हिराको पेटमा यसपटक पनि गर्भ रहँदैन । सासु आमा र समाजको रूखो बचनले उनी बिछिप्त हुँदै जान्छिन् । सन्तान नहुनुको दोष सबै उनीमाथि लागिरहेको हुन्छ । यसैबीच हिरासँग नजिकिन आइपुग्छन् रत्न (विराज विष्ट), जो गाउँमा स्वास्थ्यचौकीका कार्यालय सहयोगी हुन ।
उनी हिरालाई असाध्यै मन पराउँछन्, माया गर्छन् । हिरालाई आफ्नो घरमा भित्र्याउने सोच बनाउँछन् ।
हिरा कसरी रत्नसँग जान तयारी हुन्छिन् ? धन कमाउन कालापहाड गएका चन्द्र फर्किएपछि कथामा कस्तो मोड आउँछ ? बाँकी बुझ्न भने शुक्रवारबाट प्रदर्शनमा आएको २ घण्टा अवधिको फिल्म नै हेर्नुपर्छ । कर्णालीको दुई दशक अगाडिको परिवेशमा रहेर निर्मित यो महिला केन्द्रित फिल्म हो ।
फिल्ममा नरेन र सुरक्षाले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गरेका छन् । लक्ष्मी गिरीले सुरक्षाको सासुआमाको भूमिका निर्वाह गरेकी छिन् । डेब्यू अभिनेता विराज बिष्ट स्वास्थ्यचौकीको कार्यालय सहयोगीको भूमिकामा छन् । सुशील पोखरेल र रमेश बुढाथोकी मुखियाको भूमिकामा छन् । अन्य थुप्रै कलाकारहरू विभिन्न चरित्रमा प्रस्तुत छन् ।
फिल्ममा विवाहित केटी भगाउने केटाको परिवारले केटीका परिवारलाई जारी तिर्ने कर्णालीको प्रथालाई उठान गरेको छ । जारीलाई कुप्रथाका रुपमा फिल्ममा पेस गरिएको छ ।

फिल्मको कथा राम्रो छ । पटकथा अलि सुस्त लाग्छ । संवाद सामान्य खालका छन् । कलाकारहरूको अभिनय प्रशंसायोग्य छ । सुरक्षाले यसअघिका फिल्ममा जस्तै यसमा पनि बुलन्द अभिनय गरेकी छन् । नरेन खड्काले पनि अभिनयमा आफूलाई सशक्त रुपमा पेस गरेका छन् । छायांकनमा शिव ढकालको काम सुन्दर छ । गीत समावेशको सन्दर्भ भने फिल्मको सबैभन्दा ठूलो कमजोरी देखिन्छ ।
‘बुलाकी’ले छाउपडी प्रथा, त्यहाँको भौगोलिक विकटता, बेरोजगारीलाई समेत प्रस्तुत गर्छ । कर्णालीको भाषा, संस्कृति र रीतिरिवाज समेत फिल्ममा दर्शकले हेर्न पाउँछन् ।
समग्रमा भन्नुपर्दा केही गल्ती–कमजोरीमा आँखा चिम्लने हो भने कर्णालीको कथा फिल्ममा उतार्न निर्देशक लक्ष्मण सुनारले गरेको प्रयास प्रशंसनीय मान्नुपर्छ ।