१२ असार २०८३, शुक्रबार

सीसी क्यामेराले काम नगर्दा चोरीका घटनामा वृद्धि

सीसी क्यामेराले काम नगर्दा चोरीका घटनामा वृद्धि

दाङको तुलसीपुरस्थित मुख्य बजारमा सीसी क्यामेराले काम नगर्दा चोरीका घटना बढ्न थालेका छन् ।

रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सीसी क्यामेराले पनि काम नगर्ने भएपछि विशेषगरी व्यवसायी मर्कामा पर्दै आएका छन् ।  

साविक राप्तीको व्यापारिक केन्द्रका रूपमा रहेको तुलसीपुरमै नयाँ सीसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताए ।

‘सीसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्,’ उनले भने, ‘त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अवस्था छ ।’

व्यवसायी मात्रै होइन, रातिमा यात्रुलाई पनि समस्या हुने गरेको छ । बजारमै सीसी क्यामेरा नहुँदा चोरीका घटना पनि बढिरहेका छन् । सडक बत्ती नबल्दा व्यवसायी आफैंले राखेका सीसी क्यामेराले पनि काम गर्दैनन् ।

व्यवसायीले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् । 

तुलसीपुरका विभिन्न स्थानमा १२५ वटा सौर्य बत्ती जडान गरिए पनि ती बत्तीले काम गर्न छाडेको वर्षौं भयो तर पनि मर्मतका लागि चासो छैन । सडक बत्ती राख्दा १ करोड बढी खर्च भएको छ । सौर्य बत्ती वातावरणीय प्रदूषण लगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनीयर पवनकुमार योगीले बताए ।

ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ती मर्मत गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् । तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको थियो । यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतका लागि बोलाए । पहिलो पटक ठेकेदार आए पनि त्यसपछि भने ठेकेदार सम्पर्कमै नआएको तुलसीपुर–५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

सडक बत्ती र सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षा कायम राख्न पनि समस्या पुगेको जनाइएको छ । पटक–पटक चोरी हुनेक्रम बढेको छ । १८ क्यामेरा र रातको समय खिच्न मिल्ने सीसी क्यामेराको माग गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

salt training

कमेन्ट गर्नुहोस्