११ असार २०८३, बिहीबार

सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन मन्त्री ज्वालाको ध्यानाकर्षण

सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन मन्त्री ज्वालाको ध्यानाकर्षण
प्रतिकात्मक तस्वीर

जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

पटक–पटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ १० किलोमिटर सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतवार मन्त्री ज्वालालाई सिंहदरबारस्थित उनको कार्यकक्षमै ध्यानाकर्षणपत्र बुझाउँदै अवरुद्ध सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरे ।

ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुनुपरेको समन्वय प्रमुख राईले बताए । ‘मन्त्रीज्यूलाई कार्यकक्षमै भेटेर अवरुद्ध कालोपत्रको काम सम्पन्न गरी यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरिएको छ । ठेक्का लागेको ५ वर्ष बित्दा समेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सडक कालोपत्रको काम सम्पन्न गर्न सकेको छैन,’ उनले भने, ‘ठेकेदारले गत चैत पहिलो हप्ताबाट डीबीएसटीको काम शुरू गर्ने र वैशाख मसान्तसम्ममा डीबीएसटीको काम सम्पन्न गर्ने लगायतका प्रतिबद्धता जनाएका थिए तर उसले आफ्नो सेड्युल अनुसार काम नगरेपछि मन्त्री ज्यूलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छौं । उहाँले चासो देखाउनुभएको छ ।’

जिल्ला समन्वय समितिले खोटाङको ‘लाइफलाइन’का रूपमा रहेको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम यथाशीघ्र सम्पन्न गराउनका लागि समेत पहल गर्न मन्त्रीसमक्ष माग आग्रह गरेको छ । महुरे–फोक्सिङटार सडकको महुरे–राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धीशाही र सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्