०५ असार २०८३, शुक्रबार

चौपायाको आहाराका लागि विकल्प खोज्दै भजनी नगरपालिका

चौपायाको आहाराका लागि विकल्प खोज्दै भजनी नगरपालिका

गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको  समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । 

गर्मी मौसम शुरू भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले सामुदायिक वनसँग समन्वय गर्न थालेको हो ।

नगरपालिकाले सामुदायिक वनका प्रतिनिधि र चौपाया व्यवस्थापन समितिलाई सँगै राखेर छलफल चलाएको छ ।
   
छलफलमा सामुदायिक वनको सीमित क्षेत्र केही समयका लागि खुला गर्न नगर प्रमुख केवल चौधरीले आग्रह गरे । उनले व्यवस्थापन भएका चौपाया छोड्दा किसानले लगाएको अन्न बाली नष्ट गर्नुका साथै पुरानै समस्या बल्झिने भन्दै सामुदायिक वनलाई सीमित क्षेत्रमा चौपायालाई चरिचरनका लागि खुला गरिदिन भनेका हुन् ।
  
‘चौपाया पनि भोकले मर्ने स्थिति आउनुभएन । किसानले पनि पुरानो समस्याबाट पुनः सास्ती पाउनुभएन । त्यसका लागि सामुदायिक वनले केही समयका लागि चौपायाको चरिचरनको क्षेत्र छुट्याएर सहयोग गरिदिनुपर्‍यो,’ नगर प्रमुख चौधरी भन्छन्, ‘समस्या उब्जाउनेभन्दा समाधानको विकल्प खोज्दा राम्रो हुन्छ । चौपाया व्यवस्थापन भएकै कारण किसानले लगाएको अन्न बाली भित्र्याउन पाएका छन् ।’

उनले आगामी दिनमा सामुदायिक वनको केही भागमा घाँस लगाउने वातावरणमा पनि सहजीकरण गरिदिन सामुदायिक वनका पदाधिकारीलाई आग्रह गरे । ‘सधैं नगरपालिकाले पैसा दिएर चौपाया व्यवस्थापन गर्न सकिने स्थिति छैन र सकिँदैन पनि । सामुदायिक वनमा घाँस रोपेर त्यहीँ घाँसबाट चौपायाको आहारा पूरा गर्नुपर्ने देखिन्छ,’ नगर प्रमुख चौधरीले भने, ‘नभए एक गाई एक घरको अभियान सञ्चालन गरेर भएका चौपाया व्यवस्थापन गर्नुपर्छ । त्यसमा सरोकारवाला पहिले जिम्मेवार हुनुपर्‍यो ।’

चौपायालाई व्यवसायसँग जोडेर काम गर्ने योजनाका साथ स्थानीयलाई आउन पनि उनले आग्रह गरेका छन् ।
 
महुन्याल सामुदायिक पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरीले आहाराको अभाव र चौपायालाई पानीको समस्या भएको बताए । भएको पराल लगायतका स्रोत सकिएपछि चरनका लागि नगरपालिकालाई सामुदायिक वनसँग समन्वय गरेर  वनको सीमित क्षेत्र खुला गरिदिन आग्रह गरिएको चौधरीले बताए ।

‘नगरपालिकालाई आग्रह गरेका थियौं, त्यो आग्रहअनुसार सामुदायिक वनसँग छलफल भएको हो,’ अध्यक्ष चौधरी भन्छन्, ‘चौपायालाई पानीको पनि समस्या भएको छ । पानीको व्यवस्था र चरनका लागि वनको अनुमति मात्रै दिए पनि चौपायालाई बचाउन  सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्