
चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।
निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् ।
सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिकामा बिहीवार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रवार कर्मचारी पुगेका छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठक लगायतका आवश्यक तयारीका काम गर्ने बताए । उनले मतपत्र, मतपेटिका लगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिए ।
चितवन २ का ४३ निर्वाचनस्थलका १३८ केन्द्रमा ६९० कर्मचारी खटिएका छन् । उनका अनुसार १ मतदान केन्द्रमा ५ कर्मचारी खटाइएको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन् ।