१६ असार २०८३, मंगलबार

मन्त्रीहरूलाई गल्ती गर्ने छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ

मन्त्रीहरूलाई गल्ती गर्ने छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् । 

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् । 

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको दाबी गरे । 

‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न सक्छौं । यो शान्ति प्रक्रियाको बाँकि काम अहिले हामीले हरहालतमा पूरा गर्र्नु छ’ श्रेष्ठले भने, ‘धेरै दशकभन्दा बढि बित्यो । डेढ देश वितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष वितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं । र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भईराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकि कामलाई पूरा गर्नु छ ।’

श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासनसमेत दिए । 

‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिवद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नु पर्छ । र, फड्को मार्ने दिशामा पु¥याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो । जसलाई हामीले तात्कालिक केन्द्रिय कार्यभार भनेका छौं । यसक्रममा अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्याहरु देखा परेका छन्’ उनले भने, ‘तत्कालीक रुपमा केही अप्ठ्याराहरु देखा परेका छन । तर, अर्थतन्त्र गम्भिर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन । त्यो समस्याहरुलाई हामीले गम्भिरतापूर्वक विश्लेषण गरिराखेका छौं । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं । र, फेरी हामी अर्थतन्त्रलाई चलायमान बनाएर, गतिशील बनाएर हामी समृद्धिको यात्रालाई तीव्र बनाउने प्रक्रियामा जानु छ । यो हाम्रो तात्कालिक केन्द्रिय कार्यभार हो ।’

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउ । 

‘अहिले हामीले प्रारम्भिक काम गर्न थालेका छौं । यस पटक हाम्रो श्रद्धेय अध्यक्ष प्रचण्ड, जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । उहाँले पार्टी स्थायी समितिको बैठकमा, क्याविनेटमा र हाम्रो छुट्टै हाम्रो मन्त्रीहरुलाई विशेष निर्देशन दिनु भएको छ’ उनले भने, ‘यस पटक गल्ती गर्ने छुट हुन सक्दैन । यस पटक सुशासनमा कमजोरी गर्ने छुट हुन सक्दैन । यस पटक हामीले जनमुखी कार्ययोजना बनाउने कुरामा हेलचक्र्याई गर्ने छुट हुन सक्दैन ।’ 
यसैले यसपटक नयाँ ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । 

‘सबै मिलेर नयाँ ढंगले काम गरौं भन्ने छ । तर केही सीमाहरु छन । जो तपाईंहरूलाई थाहा छँदैछ । हाम्रो नेतृत्वको सरकार हो । तर, हाम्रो पार्टीको मात्रै सरकार होइन । यो प्रकारको समीकरण पनि तपाईंहरूलाई थाहा नै छ’ श्रेष्ठले भने, ‘त्यसकारण त्यसको सीमा बुझ्दै, अहिले राज्यको साधन, स्रोतको सीमा पनि बुझ्दै अहिले भूराजनीतिक परिस्थिति निर्माण गरेको सीमा पनि बुझ्दै हामीलाई सही दिशातर्फ काम गर्न तपाईहरुले सही कामको प्रचारप्रसार गर्न र सही कुरा के हुन सक्छ भनेर सुझाव दिन, जनतालाई जागृत गर्न र गल्ती भए सच्याउनका लागि दवाव दिन पनि भूमिका खेल्नु पर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्