बारा क्षेत्र नं २ मा उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान जारी रहेको छ । मतदान बारा–२ का सबै केन्द्रमा जारी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए ।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।