
बारा क्षेत्र नम्बर २ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणना सोमवार बिहानबाट हुने भएको छ ।
आइतवार रातिदेखि नै मतगणना शुरू गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमवार बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
‘आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ,’ उनले भने, ‘सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना शुरू गर्छाैं ।’
सम्भवतः बिहान ९ वा १० बजेदेखि मतगणना शुरू गर्ने तयारी रहेको उनले बताए । मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।
महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको निर्वाचन क्षेत्रमा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ महिला गरी कूल १ लाख ५ हजार २४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।