
स्थापनाको छोटो समयमा सेवा विस्तार गर्दै अघि बढेको बुटवलस्थित सिद्धबाबा हस्पिटल प्रालि १०० शय्यामा विस्तार हुने भएको छ ।
१० आईसीयूसहित २४ बेडमा सञ्चालित अस्पताल आफ्नै भवनमा १०० शय्यामा विस्तार गर्न लागिएको हो ।
अस्पतालका अध्यक्ष डा. दिपेश प्रधानले गुरूयोजना बनाएर बुटवल र मणिग्रामको बीच भागमा आफ्नै अस्पताल बनाउने योजना अगाडि सारिएको बताए । अस्पताल छैठौं वर्षमा प्रवेश गरेको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सकसहित १०० जना कर्मचारी कार्यरत छन् ।
अस्पतालका निर्देशक यमनचन्द प्रधानले विशेषज्ञ चिकित्सकीय सेवा न्यून शुल्कमा दिँदै आएको बताए । ‘ओपीडी शुल्क २०० रुपैयाँ रहेको छ,’ उनले भने । यसबाहेक सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको उनले बताए ।
यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरूलाई ओपीडीमा निःशुल्क सेवा दिँदै आएको उनले बताए । आधुनिक प्रविधिहरू भित्र्याउँदै सेवा विस्तारमा जोड दिएको उनले बताए ।
अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले हालसम्म १ लाख बढी बिरामीलाई सेवा दिन सफल भएको जानकारी दिए । हस्पिटलमा नेपाल सरकारको मान्यताअनुसार निःशुल्क डायलासिस सेवा समेत दिँदै आएको छ । ‘५ वटा मशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिँदै आएका छौं,’ न्यौपानेले भने ।
अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरे पनि भुक्तानीमा समस्या छ,’ उनले भने । यसपटक कात्तिकबाट सरकारबाट झण्डै १ करोड रुपैयाँ रोकिएको उनले बताए ।
लुम्बिनी प्रदेशसहित अन्य १० जिल्लाका बिरामीहरूले सेवा लिने गरेका छन् । शेयर सदस्य मुकेश श्रेष्ठले समुदायको स्वास्थ्य सेवाको मागलाई सम्बोधन गर्दै आएको बताए । अस्पतालमा ११ लगानीकर्ताको २० करोड बढीको लगानी रहेको छ ।