०५ साउन २०८३, मंगलबार

नेपालमै बनेका सवारी दर्ताका लागि निर्देशिका संशोधन, ‘यात्री’दर्ताको बाटो खुला

बैशाख १४, २०८०
नेपालमै बनेका सवारी दर्ताका लागि निर्देशिका संशोधन, ‘यात्री’दर्ताको बाटो खुला

सरकारले नेपालमै बनेका सवारी साधनको दर्ताको व्यवस्था गरेको छ । हालसम्म नेपालमा सवारी साधन नबनेको र बाहिरबाट आयात गरेर ल्याइने गरिएकाले सोहीअनुसार आयातसम्बन्धी व्यवस्था मात्रै थियो । नेपालमा पहिलोपटक यात्री नामक विद्युतीय मोटरसाइकल बनेपछि यसलाई दर्ता गर्ने विषयमा चर्को बहस भएको थियो । सरकारले यही सवारीलाई दर्ता गर्न हालको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन भएको छ ।

यातायात व्यवस्था विभागले १३ बैशाख (बुधबार)का निर्णयबाट उक्त निर्देशिकाको बुँदा नम्बर मा संशोधन गरेको छ । यस निर्देशिकाको बुँदा नम्बर ११.१.९ थप गरेर नेपालमै बनेका सवारीलाई दर्ता गर्ने व्यवस्था भएको विभागले जानकारी दिएको छ ।

निर्देशिकामा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्तासम्बन्धी विशेष व्यवस्था भएको छ । यस्तो व्यवस्थाअनुसार नेपालमै बनेका नयाँ सवारी साधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलामी दर्ता, पुनः दर्ता र नामसारीलगायत प्रयोजन निर्देशिकामा समेटिएको छ ।

यातायात व्यवस्था विभागले बिहीवार सार्वजनिक सूचना जारी गरेर यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरेको जानकारी दिएको छ । कार्यविधि निर्देशिकामा नेपालमा बनेका सवारी साधन दर्ता तथा नामसारीका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा दुई वटा बुँदा थप गरिएको छ । यातायात व्यवस्था विभागले संशोधन गरेको बुँदा अनुसार ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपुर्जाको पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’ भन्ने उल्लेख छ ।

थप गरिएको दोस्रो बुँदामा यी सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानूनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारमसमेत भर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि नेपालमा बनेका यात्रीलगायत सवारीसाधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्तालगायत कार्यको बाटो खुलेको छ । हाल नेपालमा नेपालमा विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन भइरहेको छ । नेपालमा उत्पादन भएको यो सवारी साधनमा हालसम्म प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकिरहेका थिएनन् । अब भने यो सवारी निर्वाध रूपमै दर्ता हुने भएको छ ।

कमेन्ट गर्नुहोस्