
गत चैत्रमा भएको एसईई परीक्षामा नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने कन्सल्टेन्सी सञ्चालकलाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ ।
उमेर पुगेका नक्कली परीक्षार्थीलाई पनि धरौटीमा र नाबालकहरूको हकमा अभिभावकलाई जिम्मा लगाउन मोरङ अदालतले आदेश गरेको हो ।
मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजलाशले पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको छ । सन्तोष राईलाई मुख्य अभियुक्त बनाइएको थियो ।
पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावकको जिम्मा लगाउन आदेश गरिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
मोरङका ३ वटा परीक्षा केन्द्रबाट एसईईमा सामाजिक विषयको परीक्षा दिँदै गर्दा १९९ जना नक्कली परीक्षार्थी चैत १७ गते पक्राउ परेका थिए ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, ग्रामथान गाउँपालिका २ झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा शिक्षा ऐन २०२८ अन्तर्गत म्याद थप गरी अनुसन्धान शुरू गरेको थियो । घटनास्थल छुट्टाछुट्टै स्थानमा भएकाले प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ वटा छुट्टै मुद्दा दायर गरेको थियो । ६ जना कन्सल्टेन्सीका सञ्चालकसहित ३९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये पक्राउ परेर अदालतमा उपस्थित भएकाहरूको हकमा अदालतले आदेश गरेको हो ।
केही सञ्चालक भने अहिले पनि फरार रहेका मोरङ प्रहरीले जनाएको छ । उनीहरूको हकमा उपस्थित भएपछि अदालतले आदेश गर्ने जनाइएको छ ।
प्रहरीको अनुसन्धानबाट ६ जना कन्सल्टेन्सी सञ्चालकहरूले मोटो रकम लिएर नक्कली परीक्षार्थीलाई थोरै पैसा दिएर परीक्षा दिन लगाउने गरेको खुलेको थियो । ४० हजारभन्दा बढी लिएर नक्कली परीक्षार्थीलाई दैनिक ५०० देखि १ हजार दिने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
नक्कली परीक्षार्थीले व्यापार व्यवसायदेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ । सक्कली परीक्षार्थीहरू धेरै काठमाडौंमा भएको खुलेको प्रहरीले जनाएको छ ।