०७ असार २०८३, आइतबार

मापदण्ड नपुगेका दुई बालगृह बन्द, ४१ बालबालिकाको उद्धार

बैशाख १४, २०८०
मापदण्ड नपुगेका दुई बालगृह बन्द, ४१ बालबालिकाको उद्धार

राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए । “अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र दुई बालगृह मापदण्डविपरीत बन्द गरिएको थियो, चालु आवका दुई बालगृह मापदण्ड पूरा गर्न नसकेर बन्द भएका  हुन्”, उनले भने । 

हाल नेपालका ४३ जिल्लामा चार सय १७ बालगृह सञ्चालनका छन् । त्यसमा १० हजार नौ सय पाँच बालबालिकाको संरक्षण र संवद्र्धन गरिँदै आएको छ । परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्यले निवेदन दिन सूचना प्रकाशन गरेको थियो । 

चालु आवदेखि चैत मसान्तसम्म १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइनबाट जोखिममा रहेका चार सय ४५ बालबालिकालाई उद्धार गरिएको परिषद्ले जनाएको छ । त्यसमा दुई सय २१ बालक र दुई सय २४ बालिका छन् ।

जोखिममा रहेका बालबालिकालाई उद्धार गरी परिषद्ले संरक्षण व्यवस्थापनमा राहत मनोविमर्श, कानुनी परामर्शलगायतका छ हजार एक सय ४१ लाई सहयोग गरेको छ । त्यसमा दुई हजार पाँच सय ५१ बालक र तीन हजार आठ सय ९० बालिका छन् ।
 

कमेन्ट गर्नुहोस्